असार ८, महोत्तरी । औरही नगरपालिकाको कार्यालय शनिबार राती तोडफोड भएको छ । नगरपालिकाको उपप्रमुख रेणु झाको नेतृत्वमा नगरपालिकाको कार्यालय तोडफोड गरिएको हो ।
उनीहरुले योजना शाखा र प्रशासन शाखामा तोडफोड गरि क्षती पुर्याएका छन । अन्य दिन कर्मचारीहरु कार्यालय नआउने तर शनिबारको दिन कार्यालयमा आएर काम गर्ने भन्दै उपप्रमुख झाले बिरोध जनाएपछि घटनाले उग्ररुप लिएको थियो । नगरप्रमुख सुनिलकुमार यादवले नगरपालिकामा मनलाग्दी गर्दै आएको भन्दै उप्रमुख झा नेतृत्वले नगरपालिकामा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट नगरपालिकाको २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन, २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
कामको चापले गर्दा शनिबार पनि काम गर्न बाध्य भएको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । तोडफोडका क्रममा उपप्रमुख झा निकट राजपा नेता ज्ञानु झा घाइते भएका छन । उनको स्थानिय मेडिकलमा उपचार भइरहेको जनाइएको छ ।

