असार ०६, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति एक युवतीको विभत्स हत्या भएको छ । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८÷१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी गर्न लागेको अवस्थामा युवतीको हत्या गरेका हुन ।
छिमेकलाई होहल्ला गरी गुहार माग्न थालेपछि चोरहरुले घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्जुकुमारी श्रेष्ठको हत्या गरेका हुन । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार चोरहरुले युवती श्रेष्ठको शरीरभरि धारिलो छुरा प्रहार गरी गम्भीर घाइते बनाई भागेपछि उनलाई राति २ बजेतिर प्रहरी चौकी कान्तिबजारबाट प्रहरी नायब निरीक्षक बलबहादुर माझीको नेतृत्वमा खटिएको प्रहरी टोली र परिवारजनले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लगिएको थियो ।
तर त्यहाँ उनको उपचारपश्चात थप उपचार सम्भव नभएपछि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा आज बिहान पौने ५ बजेतिर उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।
प्रहरीले घटना घटेलगत्तै सो क्षेत्रमा चोर तथा हत्याराहरुको व्यापक खोजतलास गरिरहेको जनाएको छ । चोरी गर्न आएका हरु को थिए भन्नेबारे कुनै कुरा पत्ता लागेको छैन ।

