अनलाइन सेवाबाट मालपोतको काम शुरु

असार ०४, जाजरकोट । मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो।

अबको पुस्ता प्रविधिमैत्री बन्दै गएको बताउँदै नगरप्रमुख घर्तीले सेवा प्रवाहमा हुने अनियमिततालाई अनलाइन सेवाले बन्द गरिदिने बताए ।प्रविधिकै माध्यमबाट समृद्धिको खोजी गर्नुपर्ने बताउँदै अनलाइन सेवाले गुम्दै गएको जनविश्वासलाई नयाँ ढङ्गले जागृत गर्ने प्रमुख घर्तीले बताए ।

देश र जनताको अचल सम्पत्तिसँग सम्बन्ध राख्दै आएको मालपोत कार्यालयलाई व्यवस्थित गर्न नसक्दा अभिलेखको खोजी गर्न निकै कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। हाल जाजरकोट जिल्लामा भने सोचे जस्तो नेट÷इन्टरनेट सेवा नभएको भएता पनि त्यसलाई व्यवस्थित गर्दै जानुपर्ने प्रजिअ बस्नेतको भनाइ रहेको थियो।

अनलाइन सेवाबाट जग्गाधनी दर्ता प्रमाणपुर्जा दिने जिल्लामा जाजरकोट ६६औँ जिल्ला हो । अनलाइन सेवा सञ्चालन भएपछि यसको सम्पूर्ण अभिलेख सिंहदरबारमा हुने र जग्गाधनीको फोटो, हस्ताक्षर र ल्याप्चे पनि कम्प्युटरमार्फत गराइने छ ।

सर्वसाधारण जनताको सेवासुविधा र आर्थिक हित कायम राख्न, भू–अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्न, भूमि व्यवस्थापनकार्यलाई सेवामुखी एवं सूचनामूलक बनाउन, जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पु-याउन, भू–राजश्व परिचालन गर्न सहयोग पु-याउन, आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू–सूचना प्रणालीको विकास गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले अनलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.