नेपालीलाई पक्राउ गर्न भन्दै ४ भारतीय प्रहरी अनुमतिबिना अछाम पुगे

असार ०४, काठमाडौं । बिनाअनुमति नेपाल प्रवेश गर्ने चारजना भारतीय प्रहरीलाई नेपाल प्रहरीले मंगलबार पक्राउ गरेर भारतीय प्रहरीको जिम्मा लगाएको छ। एक भारतीय किशोरीलाई भगाएर नेपाल ल्याउने अछामका केशव टमटालाई पक्राउ गर्न बिनाअनुमति नेपाल आएका ती भारतीय प्रहरीलाई बान्नीगढ जयगढ गाउँपालिका–४ बाट नेपाल प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो।

ती भारतीय प्रहरीलाई जिल्ला प्रशासन कार्यालय अछामको निर्देशनमा प्रहरी सुरक्षासहित सीमानाका पार गराइएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए। भारतीय प्रहरीलाई अछामबाट डोटी, डडेलधुरा, कैलाली हुँदै अड्डासार गरी नजिकको भारतीय प्रहरी कार्यालयमा बुझाइएको प्रजिअ श्रेष्ठले बताए।

भारतीय प्रहरी अफिसर अशोक पाण्डेको नेतृत्वमा चार जना बिनाअनुमति अछाम पुगेर नेपाली युवालाई पक्राउ गरेर लैजान लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाली युवा टमटाले भारतको छत्तिसढ राज्यअन्तर्गत कोबरा जिल्लाकी १५ वर्षीया किशोरीलाई भगाएर ल्याएको निहुँमा भारतीय प्रहरी नेपाल प्रवेश गरेका हुन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.