मेरो देश दुखिरहेछ ऐय्या ऐय्या गर्दै
तर यहाँ लाखौँ मलामीहरूको भिडमा
बर्दीलगाएर सलामी ठोकिरहेछन्
बेजान मुर्दालाई ।
ए मलामीहरूको भिडमा
सलामी ठोक्ने बर्दीहरू हो !
आऊ मलाई बुटैबुटले ठोक
हो मलाई बुटैबुटले कुट्नु पर्छ
किनकि मेरो दोष यत्ति मात्रै हो
म देश काँधमा बोकेर हिंड्ने एक भरिया हुँ ।
ठोक सलामी
देशको पुच्छरबाट लुछ्दै
मुटु कलेजो सबै खान भ्याउने
धारिला दाँतभएका ब्वाँसाहरूलाई
जिउँदो हुँदा पनि ठोक सलामी
मरेपछि पनि ठोक सलामी
पड्काऊ स्मृतिको तोप
र चलाऊ बुल्डोजर भर्खरै जन्मिएका
शिशु विचारहरूमाथि
तर देशको छातीमाथि बसेर विष्ठ्याउनेहरूलाई
सलाम गर र ठोक सलामीसलामी
जिउँदोहुँदा पनि ठोक सलामी
मरेपछि पनि ठोक सलामी ए मलामीहरू हो ।
एकदिन देशै बिकृ हुनेछ
एक ठूलो ठेकेदारको हातमा
त्यो दिन आर्यघाट पनि स्वत बिकृ हुनेछ
फेरि त्यो दिन कुन चितामा सुताएर
सलामी ठोक्ने छौ हँ तिमीहरू
आफ्नै देश चपाउनेहरूलाई ?
मलाई जबाफ चाहियो,
ए सलामी ठोक्नेहरू हो ?
– राजबाबु श्रेष्ठ ‘सागर’
गौशाला न. पा. १, महोत्तरी

