कविता – ‘ठोक सलामी ए मलामीहरू हो’

मेरो देश दुखिरहेछ ऐय्या ऐय्या गर्दै

तर यहाँ लाखौँ मलामीहरूको भिडमा

बर्दीलगाएर सलामी ठोकिरहेछन्

बेजान मुर्दालाई ।

ए मलामीहरूको भिडमा

सलामी ठोक्ने बर्दीहरू हो !

आऊ मलाई बुटैबुटले ठोक

हो मलाई बुटैबुटले कुट्नु पर्छ

किनकि मेरो दोष यत्ति मात्रै हो

म देश काँधमा बोकेर हिंड्ने एक भरिया हुँ ।

 

ठोक सलामी

देशको पुच्छरबाट लुछ्दै

मुटु कलेजो सबै खान भ्याउने

धारिला दाँतभएका ब्वाँसाहरूलाई

जिउँदो हुँदा पनि ठोक सलामी

मरेपछि पनि ठोक सलामी

पड्काऊ स्मृतिको तोप

र चलाऊ बुल्डोजर भर्खरै जन्मिएका

शिशु विचारहरूमाथि

तर देशको छातीमाथि बसेर विष्ठ्याउनेहरूलाई

सलाम गर र ठोक सलामीसलामी

जिउँदोहुँदा पनि ठोक सलामी

मरेपछि पनि ठोक सलामी ए मलामीहरू हो ।

एकदिन देशै बिकृ हुनेछ

एक ठूलो ठेकेदारको हातमा

त्यो दिन आर्यघाट पनि स्वत बिकृ हुनेछ

फेरि त्यो दिन कुन चितामा सुताएर

सलामी ठोक्ने छौ हँ तिमीहरू

आफ्नै देश चपाउनेहरूलाई ?

मलाई जबाफ चाहियो,

ए सलामी ठोक्नेहरू हो ?

– राजबाबु श्रेष्ठ ‘सागर’
                                                         गौशाला न. पा. १, महोत्तरी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.