राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा

जेठ ३२, काठमाडौं । पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुप्रै नेपाली विदेशी जेलमा परेका छन भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पुर्‍याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन ।

अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ। मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन्। उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लीएको थियो। पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो। भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो। त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका लगिएको हो।

ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै उनलाई अमेरिका लगिएको थियो। मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे। जेलबाट छुटेपछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो। नेपाल फर्किएपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए। उनलाई त्यसरी अमेरिका पठाउने गिरोहका सदस्य जिसीलाई ब्युरोले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ।

जिसीले हाल मृत्यु भइसकेका एक प्रदेश सभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन्। गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। सो समूहले त्यसरी महिनौँसम्म लगाएर विभिन्न देश हुँदै युवाहरूलाई अमेरिका पठाउने गरेको थियो। केही वर्षयता अमेरिकी सीमामा कडाइ गरेपछि त्यहाँ धेरैजना पक्राउ परेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.