जेठ ३२, दार्चुला । भेडबाख्रा चराउने ठाँउ घट्दै गएपछि भेडापालक समस्यामा परेका छन । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन । ‘भेडाबाख्रा चराउन वन जङ्गल छैन ।
गाउँ घरमा रहेका साना वनमा वर्षभरि चराउने सकिने अवस्था नभएपछि समस्यामा छौँ,’ महाकाली नगरपालिका–६ का भेडा व्यवसायी लोकेन्द्रसिंह बोहराले भने । ‘१०-१२ वर्षदेखि भेडापालन व्यवसायमा लागेको छु,’ उहाँले भन्नुभयो ,‘वनजङ्गल छैन, गाउँमा चराउन मिल्दैन ।
गत वर्ष झण्डै १५० को हाराहारीमा भेडा थिए। बिक्री गरिसकेँ।’ उहाँले अहिले ३० वटा मात्रै पालेका छन्। यति भेडाबाख्रा चराउन पनि वन छैन। गाउँमा वन नहुँदा अहिले भेडाबाख्रा चराउन व्यास गाउँपालिकाको वडा नम्बर १ नाम्पा हिमाल ल्याएको उनले बताए । भारतीय बाटो भएर नाम्पा हिमालसम्म बाख्रा चराउन ल्याइएको छ ।
बाटोमा ल्याउँदा निकै झण्झटिलो हुने बोहोराले सुनाउनुभयो। नेपालबाट भारतमा ल्याउँदा भन्सार, पशु विभाग र तोक लगाएबापत ११० भारतीय रुपैयाँ खर्च हुन्छ। अझ नाम्पा क्षेत्रमा चरिचरन बापत प्रतिबाख्रा कति रुपैयाँ तिर्नुपर्छ भन्ने थाहा नभएको बताउनुभयो।

