जेठ २४, मुस्ताङ । जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्रे थप (ओभरले) गर्नुपर्ने भएकाले भाेलि शनिबारदेखि उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख भानु कोइरालाले असार ७ गतेसम्मका लागि विमानस्थल बन्द रहने बताए । विमानस्थल स्तरोन्नतिकाे काम भइरहेकाे जानकारी दिँदै उनले जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नुपरेको बताए । साे विमानस्थलमा २० वर्षअघि कालोपत्रे गरिएकाे थियाे, जसकाे म्याद गुज्रन लागेकोले समयमै मर्मत गर्न लागिएकाे हाे । अहिले तीन सेन्टिमिटर रहेको कालोपत्रमा अब चार सेन्टिमिटर थप गर्न लागिएको काेइरालाले जानकारी दिए ।
विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा रू। ९ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको र असारभित्रै सबै काम सकिने जनाइएकाे छ ।

