कुर्सीमा बसिरहनु जोखिमपूर्ण

तपाईं/हामीमध्ये कोहीकोही दिनहुँ कम्तीमा ६ घण्टा कुर्सीमा बसेर काम गर्छौं होला । यो भनेको बर्सेनि १,७२८ घण्टा अर्थात् ७२ दिन कुर्सीमा बस्नु हो । औसत रूपमा २० वर्षको जागिर अवधिमा करिब ४ वर्ष अर्थात् १,४४० दिनजति हामी कुर्सीमै बस्ने गरेका छौं ।

दिनहुँ घण्टौंसम्म कुर्सीमा बसिरहँदा शारीरिक समस्या निम्तिने गर्छ । एउटै मुद्रामा निरन्तरको कुर्सीबसाइले अन्य समस्यासँगै ढाड र पुच्छरहाडमा पीडा निम्त्याउने हाडजोर्नी रोग विशेषज्ञहरू बताउँछन् ।

कुर्सीमा गलत तरिकाले बस्दा पिठिउँ, कम्मर, तिघ्रा, खुट्टा लगायतमा दुख्ने मात्र नभई अन्य जटिल शारीरिक समस्यासमेत उत्पन्न हुन्छन् । विभिन्न अध्ययन अनुसार, कुर्सीमा टाँसिइरहनाले विभिन्न नसर्ने रोग उत्पन्न हुनुका साथै हाम्रो आयुलाई समेत प्रभावित पारिरहेको हुन्छ । कोनैल विश्वविद्यालयको एगनोमिक्स टोलीका अनुसार, २० मिनेटभन्दा बढी कुर्सीमा बसिरहँदा शरीरमा नकारात्मक असर पर्ने गर्छ । यस्तो अभ्यासले मांशपेसी र अस्थिपञ्जर प्रणाली (मस्कुलोस्केलेटल) सम्बन्धी समस्या (ढाड, घाँटीको समस्या) बढाउँछ ।

बसाइको मुद्राले स्वास्थ्यलाई प्रभावित गर्छ । लामो समयसम्म बसिरहने व्यक्तिलाई मुटुसम्बन्धी रोग हुने सम्भावना उभिने व्यक्तिका तुलनामा दोब्बर हुन्छ ।

बसिरहँदा रगतमा भएको इन्सुलिनको स्तर २४ प्रतिशतले तल झर्छ । यसले गर्दा मधुमेहको जोखिम बढ्छ । बसिरहने गर्नाले राम्रो कोलेस्ट्रोलको स्तर २० प्रतिशत र बोसो कम गर्ने इन्जाइम ९० प्रतिशतका दरले घट्दै जान्छ ।

‘कार्यालयमा निरन्तर एउटा मुद्रामा कुर्सीमा बसिरहँदा हाम्रो शारीरिक ऊर्जा खर्च हुन्न,’ हाडजोर्नी तथा खेलकुद र जोर्नी प्रतिस्थापन शल्यचिकित्सक डा. चक्रराज पाण्डे भन्छन्, ‘शरीरमा गति नआउँदा रक्तप्रवाह राम्ररी हुन पाउँदैन र मांशपेसीले लयमा काम गर्न पाउँदैनन् ।’

एउटा अनुसन्धानअनुसार, निरन्तर ६ घण्टा वा योभन्दा बढी समयसम्म बसेर काम गर्नेहरूलाई हृदयाघात, क्यान्सर, मधुमेह लगायतका हाड, जोर्नी, मांसपेशीसम्बन्धी रोग हुने जोखिममा अत्यधिक बढ्छ ।

अचेल निरन्तर कुर्सीमा बसेरभन्दा पनि कार्यालय वा घरमा उभिएर काम गर्ने धारणासमेत विकसित भइसकेको औंल्याउँदै डा. पाण्डे भन्छन्, ‘कुर्सीमा मुद्रा मिलाएर काम गर्दा मात्र भएन, कम्प्युटर वा टेबलमा पनि उभिएर वा हिँड्दै काम गर्ने । अर्थात्, तपाईंले निरन्तर काम गर्दा एउटै अवस्था वा मुद्रामा नरही गतिशील भएर काम गर्नुपर्‍यो । कामको समय पनि शरीर पूर्ण स्थिर नभएर चलायमान हुनुपर्‍यो ।’

कुनै व्यक्ति दिनहुँ उक घन्टा हिँड्छ भने उसको आयु १० वर्ष बढ्ने आंैल्याउँदै डा. पाण्डे थप्छन्, ‘हामी धेरैबेर बसिरहँदा, निष्क्रिय रहँदा बुढयौली प्रक्रिया (एजिङ) पनि छिटो सुरु हुन्छ ।’

कुर्सीमा बसेरै काम गर्नुपरे पनि हरेक आधा घण्टामा एक– पटक टेबलको वरिपरि भए पनि दुई तीन मिनेट हिँड्नुपर्छ । फाइल निकाल्नु, आफैंले पानी लिएर खानुलगायतका गतिशीलता भएका स–साना कामहरू गर्नुपर्छ ।

‘जीवन गति हो, यसलाई निरन्तर जारी राखे हामी उमेरको अन्तिम अवस्थासम्म हिँडडुल, आफ्नो काम काज गर्दै सामान्य रूपले जीवन बिताउन सक्छौं,’ डा.पाण्डे भन्छन्, ‘एउटै मुद्रामा कुर्सीमा बसेर निरन्तर काम गर्नु भनेको शारीरिक अस्वस्थता र नसर्ने रोग निम्त्याउनु मात्र नभएर आफूले आफैंलाई मृत्युनजिक पुर्‍याउनु हो ।’

अर्कातिर, वर्षौं बसेर समय बिताउने कुर्सी पनि तपाईंका लागि अनुकूल र उपयुक्त हुनुपर्ने हाडजोर्नी रोग विशेषज्ञ प्रा.डा. रामकेवल साह बताउँछन् । कुर्सीले पिठिउँलाई राम्ररी सहारा दिनुपर्छ, तिघ्रा आरामसाथ रहनुपर्छ । सकेसम्म पिठिउँलाई सिधा राख्ने कुर्सी हुनुपर्छ । तपाईंको पुच्छ्रेहाड दुख्दैन भने कडा सतहमा बस्दा शरीरको मुद्रा बिग्रँदैन । बस्दा कुप्रो पनि पर्नुभएन ।

दुखाइबाट बँच्न मात्र नभई जीवन लम्ब्याउन पनि कुर्सीमा बस्दासमेत गतिशीलता/सामान्य व्यायाम गर्नुपर्ने आवश्यकता विशेषज्ञहरू आंैल्याउँछन् ।

कुर्सीबसाइका कारण हुन सक्ने नकारात्मक समस्या हटाउन नियमित रूपमा हिँडडुल गर्नुपर्छ । बढीमा हरेक आधा घण्टापछि कुर्सीबाट उठेर यताउता हिँड्नुपर्छ ।
कुर्सीमा खुट्टा चढाएर नबसौं हामीमध्ये धेरैजसो व्यक्ति कुर्सीमा पनि पलेँटी मारेर बस्ने गरेका छौं । यसो गर्दा हामी आफूलाई सहज अनुभव गर्छौं तर यसरी बस्दा शरीर प्राकृतिक आकारमा रहन पाउँदैन । स्वास्थ्यका दृष्टिले यस्तो बसाइ निकै नराम्रो मानिन्छ ।

विज्ञहरूका अनुसार, कुर्सीमा पलेँटी मारेर बस्दा ढाड र पेल्भिक बोनमा दुखाइको समस्या हुने जोखिम बढ्छ । यस्तो बसाइमा खुट्टाका नसा थिचिन्छन्, जसले गर्दा रक्तप्रवाह प्रभावित हुने गर्छ ।

लामो समयसम्म पलेँटी मारेर बस्दा खुट्टामा भएका ‘स्पाइडर भेन्स’ मा नकारात्मक असर पर्छ । यति मात्र नभई, यस्तो बसाइका कारण हाम्रो स्नायुमा समेत दबाब पर्छ ।
कुर्सीमा निरन्तर बसिरहँदा जान सक्छ ज्यान अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित एउटा अध्ययनको दाबीअनुसार, विश्वमा हुने करिब ४ प्रतिशत मृत्युको कारक दिनहुँ तीन–चार घण्टा बसिरहनु हो । निरन्तर बसिरहनु स्वास्थ्यका लागि खतरनाक मानिएको छ ।

५४ मुलुकमा गरिएको यो अध्ययनअनुसार, विश्वका ३.८ प्रतिशत व्यक्तिको मृत्युको कारक तीन घण्टा वा योभन्दा बढी समयसम्म कुर्सीमा बसिरहनु हो । कुर्सीको प्रभावलाई लिएर यो अध्ययनमा सन् २००२ देखि २०११ सम्मको तथ्यांकको विश्लेषण गरिएको थियो ।

अध्ययनअनुसार, हामी कुर्सीमा बस्ने समय घटाएर आयु सम्भाव्यता (लाइफ एक्सपेक्टेन्सी) मा बर्सेनि ०.२० प्रतिशत वृद्घि गर्न सक्छौँ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.