जेठ २४, पोखरा । संरक्षणको अभावमा शहरी क्षेत्रका चौतारा लोप हुँदै गएको वास्तविकतामा यहाँका दुई संस्थाको अगुवाइमा गरिएको बुटिक चौतारी निर्माण यतिखेर उदाहरणीय बनेको छ ।
पोखराको हरियाली एवं वातावरणीय सुन्दरतासँगै पैदलयात्रीको विश्रामस्थलका रुपमा लिइएका बुटिक चौतारी सडकको दायाँबाँया निर्माण गरिएका छन् । सिद्धार्थ राजमार्गसँग जोड्ने मुख्य सडकखण्डको नागढुङ्गादेखि पृथ्वीचोकसम्म ७०० मिटर लम्बाइ क्षेत्रमा लगभग रु आठ लाखको लागतमा कूल ८७ चौतारा निर्माण गरिएका छन् । पोखरा महानगरपालिका वडा नं ८ र ९ को सिमानास्थित सडकको पश्चिमतर्पm महानगरको रु दुई लाख र वडास्तरीय बजेट रु दुई लाख जनसहभागितामा ४४ चौतारी निर्माण गरिएका नागढुङ्गा चौतारी उपभोक्ता समितिका अध्यक्ष विनोद लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार साना–साना एकै खालका गोलाकार ढुङ्गाबाट निर्माण गरिएका प्रत्येक चौतारी दुई फिट उचाइ र सात फिट गोलाइका छन् । नागढुङ्गा युवा क्लब र लायन्स क्लब अफ फेवा सिटीद्वारा तीन वर्षअघि संयुक्तरूपमा १०० भन्दा बढी बिरुवा रोपिएको जानकारी दिँदै लामिछानेले चौतारी निर्माणले यस क्षेत्रको वातावरण संरक्षणसँगै सौन्दर्यतामा समेत वृद्धि ल्याएको बताउनुभयो । त्यस्तै सडकको पूर्व वडा नं ९ तर्फ करीब रु चार लाखको लागतमा ४३ चौतारी निर्माण गरिएका छन् । साना रुख संरक्षणका लागि चौतारी निर्माण समितिका अध्यक्ष कमल काफ्लेका अनुसार सडक किनारमा रहेका बिरुवाको संरक्षणसमेतको उद्देश्यका साथ चौतारी निर्माण गरिएको हो ।
चौतारी निर्माणमा रु चार लाखभन्दा बढी खर्च भएको बताउँदै उहाँले पोखरा वडा नं ९ को रु तीन लाख ८७ हजार र बाँकी रकम स्थानीय जनश्रम परिचालन गरिएको जानकारी दिनुभयो । सो क्षेत्रका सडकको दुवै किनाराका फुटपाथमा कपुर, एभोकाडो, लिची, अम्बा, आँप, हलुवावेद, कल्की, निम, चाँपलगायतका सदाहार प्रजातिका बिरुवा लगाइएको बताउँदै उहाँहरुले बिरुवा र चौतारीको संरक्षण चुनौतीपूर्ण रहेको बताउनुभयो ।

