कर्मचारी समायोजन व्यवहारिक नभएको ट्रेड युनियन प्रतिनिधिको गुनासो

जेठ २३, काठमाडौं । कर्मचारी समायोजन प्रक्रिया प्राविधिक रुपमा सम्पन्न भए पनि व्यवहारिकरुपमा सफल नदेखिएको कर्मचारी ट्रेड युनियन प्रतिनिधिहरुको गुनासो छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन प्रतिनिधिहरुले सरकारसमक्ष गुनासो गरेका छन् ।

सरकारले ०७५ चैत १४ मा नै कर्मचारी समायोजन प्रक्रिया सम्पन्न गरेको बताए पनि यो प्रक्रिया कर्मचारीको हितमा नभएको र समायोजन प्रक्रिया व्यवहारिक रुपमा नभएको युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले बताए । यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरिबहादुर रावलले संघबाट स्थानीय तहमा पठाइएका कर्मचारी र स्वास्थ्य क्षेत्रमा पठाइएका कर्मचारीहरुले तलब, सुविधा कहाँबाट पाउने भन्ने विषय अन्योलमा रहेको टिप्पणी गरे । “स्थानीय तहमा केन्द्रबाट पठाइएका कर्मचारी र स्वास्थ्य क्षेत्रमा पठाइएका कर्मचारीहरुले तलब र सेवा सुविधा कहाँबाट पाउने भन्ने कुरामा अन्योल छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सफ्टवेयरका माध्यमबाट गरेको समायोजन झन्झटिलो र व्यवहारिक रुपमा असजिलो देखिएको छ,” अध्यक्ष रावलले भने ।

यस्तै भ्रष्टाचारमा मातहतकाभन्दा तालुक निकायका कर्मचारीको बढी संलग्नता हुने प्रतिनिधिहरुको दाबी छ । “सानो पदका कर्मचारीलाई माथिल्लो पदका कर्मचारीले भ्रष्टाचारमा मुछेका छन् । घुस लिने काममा साना पदका कर्मचारीलाई ठूला पदका कर्मचारीले प्रयोग गरिरहेका छन् । यसमा पनि सम्बन्धित निकायले ध्यान पुर्‍याउन जरुरी छ । साथै अब घुस लिनेलाई होइन घुस दिनेलाई छानबिन गरेर कारबाही गरिनुपर्छ,” रावलले बताए । यसका साथै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले राष्ट्रिय भेला सम्पन्न गर्दै प्रस्तावित संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा सञ्चालन ऐनबारे ट्रेड युनियनसँग छलफल गर्नका लागि सरकारलाई ४० बुँदाको प्रस्ताव तयार गरेको छ ।

सेवाग्राहीमूखी शासन प्रणाली र ट्रेड युनियनसहितको प्रशासन प्रणालीको माग राख्दै संघीय निजामती सेवा ऐनमा विद्यमान ट्रेड युनियनको व्यवस्था अक्षरस राख्ने व्यवस्था हुनुपर्नेलगयातका बुँदा प्रस्तावमा समेटिएको उपाध्यक्ष पोखरेलले जानकारी दिए । यसका साथै संघ, प्रदेश र स्थानीय तीनै तहका निजामती सेवासँग सम्बन्धित ऐनहरुमा आधिकारिक ट्रेड युनियन र राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको व्यवस्थाको माग पनि प्रस्तावको बुँदामा समेटिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.