जेठ २१, काठमाडौं । साहसिक तथा पर्यटकीय खेल प्रवर्धन गर्ने मूल नाराका साथ ९ वर्षअघि स्थापित नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको पाँचौं वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसद सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, नेपालका लागि ग्रिसका महावाणिज्य दूत विक्रम पाँडे, नेपालका लागि बेल्जियमका वाणिज्य दूत आङ्गछिरिङ्ग शेर्पा तथा पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले सम्बोधन गरेका थिए । साथै, आज विश्व वातावरण दिवसका अवसरमा संघले दिगो पर्यटनका लागि प्राकृतिक तथा साहसिक खेल विषयक अन्तरक्रियासमेत गरेको छ । पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले खेलकुद पर्यटन सम्बन्धि विषयवस्तुबारे प्रस्तुति गरे भने अन्य अतिथिले नेपाल साहसिक तथा पर्यटकीय खेलकुदको प्रचुर सम्भावना भएको मुलुक भएकाले पर्यटन प्रवर्धन गर्न स्पोर्ट क्लाइम्बिङ्गले महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष हरि धरेलले प्रस्तुत गरेको वार्षिेक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेम नारायण अधिकारिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरियो । त्यसैगरी आगामी चार वर्षे कार्ययोजना पारित गर्दै नयाँ पदाधिकारी निर्विरोध चयन भएका छन् । संघको अध्यक्षमा हरि धरेल, उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न याकथुम्बा र प्रेम नारायण अधिकारी चयन भएका छन् भने महासचिवमा मेघराज पौड्याल र सचिवमा ठाकुर न्यौपाने तथा कोषाध्यक्षमा दोरिन्द्र राज दाहाल चुनिएका छन् । सदस्यहरुमा दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन, केशव सापकोटा, चारु श्रेष्ठ, अन्जु रावत, सुजित कँडेल, हरेराम खड्का र तुल्सिङ्ग गुरुङ चुनिएका छन् ।

