जेठ २२, काठमाडाैं । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’का अवसरमा आज (बुधबार) सार्वजनिक बिदा दीएकाे । मन्त्रिपरिषदकाे १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’
चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।
चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो। मुस्लिम आयोगको सिफारिसमा भोलि बिदा दीएको हो ।

