जेठ २०, एजेन्सी । उडिरहेको एउटा यात्रुवाहक विमानमा बम रहेको भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाका दुईवटा लडाकु जेट विमानले सो यात्रुबाहक विमानलाई सकुशल ओरालेका छन ।
त्यहाँका अधिकारीहरुले जनाएअनुसार उडिरहेको यात्रुवाहक विमानमा बम राखिएको जानकारी पाएपछि तत्कालै उद्धार गरिएको थियो । तर सो विमान अवतरण गरेर चेकजाँत गर्दा भने कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दीएको सूचना समेत गलत रहेको पुष्टि भयो ।
फिलिपिन्सको सेबुबाट आइतबार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालक दलका ६ जना सदस्य थिए । नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको र उनी पनि सोही विमानको यात्रु भएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।
यसरी हल्ला फैलाउने ती बालकमाथि सिंगापुर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४ः४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ ।

