२५० वर्ष पुरानो दमाहा भेटियो !

जेठ १७, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो) को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रबहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो ।

“मैले यस क्षेत्रमा धेरै पुराना बाजा रहेका छन भन्ने कुरा स्थानीय वृद्धवृद्धाबाट थाहा पाएपछि ती ऐतिहासिक बाजा खोज्दै जाँदा दुई दिनअघि मात्र त्यो दमाहा भेटाएको हो”, स्थानीय शिव बानियाँले भन्नुभयो ।

बानियाँका अनुसार पुला (साविकको पुलाचौर गाविस) क्षेत्रमा २५० वर्षअघि हुम्ला जिल्लाबाट बानियाँ, छिनेल, दर्जी (दमाई) र पौडेल बसाईं सरेर सँगसँगै आएका र सोही समयमा तत्कालीन दमाई (दर्जी)
जातिले यो दमाहा पुलामा ल्याएका किंवदन्ती छ । पुस्तान्तरण हुँदै अहिले इन्द्रबहादुर दर्जीको जिम्मामा आएको यो दमाहा अहिले पनि नयाँ जस्तै देखिन्छ । त्यसमा कुनै खराबी नआएको र बजाउँदा अरु दमाहाभन्दा चर्को र बेग्लै आवाज निस्कने गरेको स्थानीयले बताएका छन ।

उक्त दमाहा पहिले स्थानीय रल्ले बूढा भन्ने व्यक्ति कहाँ रहेको र विसं २०६० मा तत्कालीन नेकपा माओवादीले म्याग्दी आक्रमण गरेपछि त्यो दमाहा आफूले राख्दै आएको दर्जीले बताउनुभयो । आफ्नो गाउँमा ऐतिहासिक दमाहा भेटिएपछि त्यसको संरक्षणमा स्थानीयले चासो देखाएका छन ।

स्थानीय वरनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम दर्जीले ऐतिहासिक महत्वका त्यस्ता बाजाको सङ्ग्रहालय नै बनाएर राख्नसके पछिल्लो पुस्तालाई देखाउन र ती बाजाको महत्व बुझाउन सजिले हुने बताउनुभयो । दमाहा पत्ता लागेपछि त्यसको संरक्षण गर्नुपर्ने र सम्बन्धित निकायको पनि ध्यान जानुपर्ने स्थानीय यामबहादुर बानियाँले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.