जेठ १७, हुम्ला । कैलाश मानसरोवर दर्शनको लागि हुम्लाको बाटो भएर जानेतीर्थयात्राको लागि जाने भारतीय पर्यटकहरुको सख्यामा बृद्धि भएको छ । २ हप्तामा सिमकोटको बाटो भएर कैलाश मानसरोवर दर्शनका लागि बुधबारसम्म ७ सय १ जना महिला र ८ सय जना पुरुष गरी जम्मा १ हजार ५ सय १ जना भारतीय तीर्थयात्री र तेस्रो मुलुकका २२ पर्यटक सिमकोट पुगेका सिमकोट विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब निरिक्षक सुधिर कुमार खड्काले बताए । कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटकहरु हुम्लाको बाटो भएर आयन थाले पछि सिमकोट बिमानस्थल निकै व्यस्त भएको छ ।
चिनको स्वशासीत क्षेत्र तीब्बतको उच्च पठारमा रहेको कैलाश र मानसरोवर हिन्दु र बौद्ध धर्मालम्बिहरुको मुख्य तीर्थटनको गन्तव्य भएकाले हरेक वर्ष भारतीय पर्यटक सिमकोट हिल्साको बाटो हुदै कैलाश मानसरोवर दर्शन गर्न जाने गरेका छन ।
समुन्द्र सतहबाट करिब ४ हजार ५ सय ९० मिटरको उचाईमा रहेको मानसरोवर ताल हुम्लाको हिल्साबाट ८५ किलोमीटरको दुरीमा रहेको यस सरोवर ३२० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । कैलाश पर्वत भगवान शिवशंकर बासस्थान र मानसरोवर तालको भगवान शिबको स्नानस्थान हो भन्ने धार्मिक विश्वास रहेको छ । हिउँ पग्लेर पानी बनेर बग्दा डमरु बजेको जस्तो ध्वनिको आवाज सुन्न सकिन्छ ।
नेपालगञ्ज सिमकोट हुदै हिल्साको बाटो भएर मानसरोवर कैलाशको दर्शनको लागि भारतीय धार्मिक पर्यटकहरु हुम्लाको बाटो भएर आउने गर्दछन । हुम्लाको बाटो प्रयोग गर्दा सबैभन्दा छोटो र सहज हुने हुदा प्राय भारतीय धार्मीक पर्यटकहरुको रोजाई यो रुट पर्ने गरेको होटेल ब्यबसायि संघ हुम्लाका अध्यक्ष मिन बहादुर लामाले बताए ।
अहिले सिमकोटमा माउण्टेनकोे १,मनाङको १, सिम्रीगको १ र सुमिटको २ गरी ५ वटा हेलिकप्टरहरुले सिमकोट हिल्सा दैनिक ३५ देखि ४० उडान गर्छन भने नेपालगंजबाट सिमकोटका लागि जहाजले दैनिक २० देखि २५ उडान भर्ने गरेका छन । अहिले सिमकोटमा बिहान ६ बजेदेखि बेलुका ७ बजे सम्म उडान भईरहने हुँदा पछिल्लो समयमा सिमकोट विमानस्थल निकै व्यस्त भएको छ ।

