जेठ १५, काठमाडौं । सरकारले वृद्धभत्तामा एक हजार रुपैयाँ वृद्धि गरेको छ ।
बुधबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्धभत्ता वृद्धि गरिएको बताएका हुन् । “ज्येष्ठ नागरिकलाई राज्यले सम्मान र संरक्षण गर्नुपर्छ भन्ने अभियान अनुरुप प्रदान गर्दै आएको रकममा ७० वर्ष पुगेका नागरिकलाई एक हजार थप गरी प्रदान गरिनेछ,’’ उनले भने ।
उनले लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्दै सरकारले दलित, अपाङ्ग र पिछडिएका व्यक्तिहरुलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्तामा एक हजार थप गरी प्रदान गरिने बताए । अर्थमन्त्री खतिवडाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि एक लाखसम्मबो बिमा रकम सरकारले व्यहोर्ने पनि बताएका छन् ।

