जेठ १३, काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्ड आगामी असार १७ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा १६ औं संस्करणको अवार्ड अन्तरराष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसर पारी १७ गते हुने भएको हो ।
आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी अवार्डको मिति सार्वजनिक गरेको हो । यसपटकको अवार्ड १० विधामा प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि ९ विधामा अवार्ड प्रदान गरिँदै आएपनि यसपटक इन्टरनेशनल एशियन स्पोर्टस् जर्नालिस्ट अवार्ड थप गरिएको मञ्चका अध्यक्ष देवेन्द्रनाथ सुवेदीले जानकारी दिए ।
यस्तै विगतका जस्तै वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी पुराना खेलाडी, प्रशिक्षक र पुराना खेलकुदकर्मीलाई सम्मान गरिने अध्यक्ष सुवेदीले बताए । वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेशल अवार्डका लागि खेलाडीको मनोनयन केहीदिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । यस्तै लाइफटाइम, पारा र टिम अफ दि इयर विजेताको घोषणा भने सोहि दिन नै हुनेछ ।
वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुष, प्रशिक्षक र पिपल्स च्वाइसको विजेताले बजाज मोटरसाइकल पुरस्कार पाउनेछन् । अन्य विधाका विजेतालाई ५० हजार पुरस्कार प्रदान गरिनेछ । यसैबीच नेपाल खेलकुद पत्रकार मञ्च र हंशराज हुलासचन्द एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौता भएको छ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष सुवेदी र हंशराज हुलास चन्दका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे । सम्झौतासँगै हंशराज हुलासचन्द यो वर्षका अवार्डका लागि २८ लाख रुपैयाँबराबरको नगद र र जिन्सी उपलब्ध गराउने छ । २०५२ सालमा स्थापित मञ्चले २०६० सालदेखि अवार्ड आयोजना गर्न थालेको हो । २०७२ सालको भूकम्पका कारण भने एक वर्ष अवार्ड रोकिएको थियो ।

