विवादित सभासददेखि विप्लव समूहका नेताहरू विभूषित हुने

जेठ १३, काठमाडौं । सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । विप्लव समूहकै अर्का नेता सन्तोषकुमार बुढा मगरले पनि संविधानसभा पदक पाउने भएका छन् । उनले २०६४ सालमा रोल्पा(२ बाट चुनाव जितेका थिए ।

यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मानित गर्ने भएको छ । उनी पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।

भुजेललाई २०७५ भदौमा बालाजुबाट प्रहरीले पक्राउ गरेको छ । त्यतिबेला विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाइसकेको थिएन । भुजेललाई आगजनी सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो ।

भ्रष्टाचारीलाई पनि विभूषण 

सरकारले पदक दिन लागेका ११०९ जना मध्ये भ्रष्टाचारमा मुद्दा चलिरहेका र विवादित सभासदहरू पनि छन् । विभूषित हुनेको ५७८ नम्बरमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेको नाम छ । चुरे भावर हुँदै नेकपा केन्द्रीय सदस्य रहेका न्यौपाने विरुद्ध ३१ करोड भ्रष्टाचार गरेको अभियोग छ । उनीसँगै भ्रष्टाचारमा मुछिएका पूर्व मन्त्री टेकबहादुर गुरुङ्गलाई पनि सरकारले विभूषित गर्न लागेको छ ।

न्यौपाने र गुरुङ दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । न्यौपाने २०७५ चैत १३ गते ५ लाख धरौटी बुझाएर रिहा भएका थिए । बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामाले पनि गणतन्त्र दिवसको अवसरमा पदक पाउने भएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा पनि मुद्दा चलाएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.