ज्येष्ठ १३, काठमाडौं । ६० वर्षदेखि नेपालमा सञ्चालित ब्रिटिस काउन्सिल दुई महिनाअघि मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ। गत १७ चैतमा ब्रिटिस काउन्सिल सर्भिसेस नेपालको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो।
सन १९५९ देखि नेपालमा स्थापित काउन्सिलले आईएलटिएस (इन्टरनेसनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम) परीक्षा सञ्चालन गर्दै आएको छ । तर, उसले हालसम्म पनि नेपाल सरकारलाई कुनै कर नतिरेको आन्तरिक राजस्व विभागका एक उच्च अधिकारीले जानकारी दिए। नेपालमा वार्षिक ५० हजारभन्दा बढी विद्यार्थीले आईएलटिएसको परीक्षा दिँदै आएका छन्। एकजना विद्यार्थीबाट उसले १६ हजार नौ सय ५० रुपैयाँ शुल्क लिने गरेको छ।
यस हिसाबले काउन्सिलले वार्षिक ८२ करोड रुपैयाँभन्दा बढी संकलन गर्छ। तर, काउन्सिलले आयकर, मूल्य अभिवृद्धि करलगायत कुनै पनि कर तिरेको छैन। ब्रिटिस काउन्सिल आन्तरिक राजस्व कार्यालय महाराजगन्जको कार्यक्षेत्रअन्तर्गत पर्छ। तर, उसले अझै कर नबुझाएको आन्तरिक राजस्व विभागले जनाएको छ।

