जेठ १२, काठमाडौं । काठमाडौंको कोटेश्वर नरेफाँटबाट नेत्रविक्रम चन्द विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीका अनुसार विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेका सातैजनालाई बानेश्वर प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट चारवटा कुकर, पर्चा पम्प्लेट, भाटासहित पक्राउ गरिएको बानेश्वर प्रहरीका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा डम्बरबहादुर तामाङ, चित्रकमल वली, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्लेलगायत छन् । डीआईजी श्रेष्ठले उनीहरुले सोमबार घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लव समूहले मसाल जुलुस निकाल्ने तयारी गरेको थियो । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

