विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ – प्रधानमन्त्री

जेठ ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, राष्ट्रियता, विविधता र यहाँका आवश्यकताको पहिचान गरी स्वदेशकै सेवा गर्न यहीँ पढेर गुणवान् नागरिक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राज्यले शिक्षामा लगानी गरेको छ तर यो पर्याप्त छैन । त्यस अर्थमा निजी शिक्षा क्षेत्रलाई लगानी रोकेर स्वदेशको पूँजी पलायन गराउने भन्ने हुँदैन । निजी र सामुदायिक दुवै शिक्षालय मिलेर उत्कृष्ट शिक्षाको वातवरण र प्रविधि निर्माण हुँदै समृद्धिमा लाग्नुपर्छ ।” प्रधानमन्त्री ओलीले निजी शिक्षालयलाई बन्द नगराई नियमन गर्ने सरकारको नीति हुने र सामुदायिक क्षेत्रको स्तर माथि उकासेर निजीलाई स्वतः बन्द हुने खतरामा पु¥याउने उल्लेख गर्दै निजी क्षेत्रको लगानीलाई सुरक्षित र प्रोत्साहितसमेत गरिने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली विद्यार्थी बाहिर नजाने वातावरणका लागि निजी क्षेत्रको घाँटी निमोठ्ने काम हुँदैन । देश विकासको अगुवाइ निजी क्षेत्रले गर्नुपर्छ ।” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षा नेपालमै दिन सकिने वातावरणका लागि सरकारले उचित सहयोग गर्ने बताउँदै निजी शिक्षालयले सेवाको भावना राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । चारदिने मेलाका संयोजक युवराज शर्माले २०६९ सालदेखि आयोजना गरिँदै आएको मेलामा स्वदेशका उच्च शिक्षाका उत्कृष्ट संस्थाका अनुभव आदानप्रदान हुने जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.