बैशाख ३१, काठमाडौं। बिगत केही महिनादेखि मेलम्ची खानेपानी आयोजना अलपत्र रहेको छ । भुक्तानी नपाएर काम छाडेको ठेकेदार कम्पनी सिएमसीलाई फर्काउन नसकिएपछि काठमाडौंबासीले ठूलो आशा गरेको मेलम्ची खानेपानी आयोजना अस्तब्यस्त बनेको छ ।
यसअघि गएको माघ २७ मा अस्थायी बाँध बाँधेर काठमाडौंमा पानी ल्याउने सरकारी उद्घोष थियो। लगभग पुरै आयोजनाको ९७ प्रतिशत काम पूरा भइसकेको अवस्थामा ठेकेदार कम्पनी सिएमसीले छाडेर गएपछि काम छाडेको ठेकेदारलाई फर्काउने खानेपानीमन्त्री बिना मगरको प्रयास कर्मचारीतन्त्र र प्रधानमन्त्रीका पूर्वाधार विज्ञहरूको असहयोगका कारण सफल हुन सकेन।
संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमवार बसेको बैठकले मेलम्ची खानेपानी आयोजनासहित विभिन्न राष्ट्रिय गौरवका आयोजना निर्माणको काम लक्ष्यअनुरूप अघि नबढेर अलपत्र रहेको निष्कर्ष निकालेको छ । केही समयअघि महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६आंै वार्षिक प्रतिवेदनले पनि राष्ट्रिय गौरवका आयोजनाको अवस्था सन्तोषजनक नभएको औंल्याएकाे थियो । झण्डै दुई दशकदेखि भइरहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माणमा २६ किलोमिटर सुरुङ्गमध्ये करिब आठसय ८५ मिटर जति इन्भर्ट कन्क्रिटुको काम, फाइनल सपोर्टको ४१० मिटर काम र दुईवटा भेन्टिलेशन शफ्टको काम बाँकी रहेको छ।
सरकारले सिएमसीले छोडेर गएपछि मेलम्चीकाे बाँकी काम कुन ढाँचाबाट अघि बढाउने भन्ने निर्णय लिन नसक्दा निर्माण अलपत्र अवस्थामा छ ।

