बैशाख ३१, धनुषा । बारा र पर्साका आँधी प्रभावितलाई प्रदेश १ सरकारले एक करोड सहयोग उपलब्ध गराएको छ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा राईले चेक हस्तान्तरण गर्दै आँधीले निम्त्याएको विपदमा आफ्नो प्रदेशले सानो सहयोग गरेर प्रदेश २ को विपतमा सबै एकजुट रहेको सन्देश दिएको बताउनु भयो ।चेक बुझ्दै मुख्यमन्त्री राउतले प्रदेश–प्रदेशबीचको सहकार्य र सम्बन्ध मजबुत बनाउने आधार प्रारम्भ भएको भन्दै प्रदेश १ प्रति आभार व्यक्त गर्नुभएको थियो ।
बारा र पर्सामा चैत १८ गते आएको आँधीले २९ जनाको मृत्यु हुनुका साथै करोडौंको धनमालको क्षति भएको थियो ।आँधी पीडितका लागि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग उपलब्ध गराइसकेको छ भने अन्य प्रदेशले पनि सहयोग गर्ने निर्णय गरेका छन ।

