बैशाख ३०, काठमाडौं। इण्डियन प्रिमियर लिगको १२ औं संस्करण सकिएको छ । गएराती भएको फाइनलमा चेन्नइ सुपरकिंग्सलाई हराउँदै मुम्बइ इण्डियन्सले उपाधि जित्यो । संसारकै सबैभन्दा धेरै पुरस्कार राशीको यो लिगमा आबद्ध नेपाली खेलाडी सन्दिप लामिछाने हिजो नेफाल फर्किसके । उनले कति पुरस्कार पाउलान भन्ने विषयमा धेरै नेपालीको चासो छ । यस वर्ष तेस्रो भएको दिल्ली क्यापिटल्सका खेलाडी सन्दिप लामिछानेले कूल २२ लाख भारतीय रुपैयाँ पुरस्कार पाउनेछन । यद्यपि यसमा लाग्ने कर भने काटिनेछ ।
आइपिएलको विजेताको पुरस्कार राशी २० करोड भारु छ । चौथो पटक आइपिएल उपाधि जितेको मुम्बई इण्डियन्सले २० करोड भारतीय रुपैया पुरस्कार स्वरूप पाएको छ । त्यस्तै उपविजेता बनेको चेन्नई सुपरकिंग्सले पुरस्कार वापत साढे १२ करोड पाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले १० करोड ५० लाख पाएको छ भने चौथो स्थानमा रहेको सनराइजर्स हैदरावादले ८ करोड ७५ लाख पुरस्कार रकम पाएको छ ।
आइपिएलको नियम अनुसार पुरस्कार रकमको आधा रकम आइपिएल फ्रेन्चाईजीले लैजाने छ भने आधा रकम खेलाडीलाई बाडिने छ । यसअनुसार दिल्लीले जितेको १० करोड ५० लाख भारतीय रुपैयाँमध्ये आधा रकम फ्रेन्चाइजीले लैजाने छ र बाँकी आधा अर्थात ५ करोड २५ लाख खेलाडीलाई बाँडिनेछ । दिल्लीको टिममा कूल २५ खेलाडी छन । यो रकम सबै खेलाडीलाई बराबरी बाँडिनेछ । यसरी बाँडिँदा एक खेलाडीको भागमा २१ लाख रुपैयाँ पर्न आउँछ ।
यसबाहेक सन्दिप लामिछाने पंजाबविरुद्धको खेलमा तीन विकेट लिँदै स्टाइलिश प्लेयर अफ द म्याच बनेका थिए । यो उपाधिको पुरस्कार राशी एक लाख भारु हुन्छ जुन सिधै खलाडीलाई दीन्छ । यसरी तेस्रो भएको पुरस्कार र स्टाइलिश प्लेयर अफ द म्याचको पुरस्कार गरी सन्दिपले २२ लाख भारतीय रुपैयाँ पुरस्कारबाट मात्र पाउनेछन । यसबाहेक २० लाख भारु उनको पारिश्रमिक नै हो । सबै गर्दा सन्दिपले कूल ४२ लाख भारतीय रुपैयाँ पाउनेछन । ४२ लाख भारुको नेपाली रुपैयाँ ७० लाख ४० हजार हुन्छ । यो रकममा नियमअनुसार लाग्ने कर भने सन्दिपले तिर्नुपर्नेछ । कर तिरेर बाँकी रहेको रकम सन्दिपले पाउनेछन ।

