बैशाख २९, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी संगठनलाई इतिहासकै नमुना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वास, पूर्ण निष्ठा र नयाँ ऊर्जाका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।
पदोन्नति भएका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी प्रधान कार्यालयमा कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रममा खनालले यस्तो बताएका हुन् । खनालले भने, ‘‘मूलभूत रुपमा संगठन गतिशील हुनैपर्छ ।’’ नेतृत्वमा रहँदा लिने निर्णय दूरगामी सोचमा आधारमा हुनुपर्ने विचार व्यक्त गर्दै प्रहरी खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोच, आफूप्रति विश्वास, कामप्रतिको लगाव, संगठनप्रति समर्पण भाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गरे । सांगठनिक दृष्टिकोण, प्राथमिकता र लक्ष्यमा कम ध्यान दिनाले सफलता प्राप्तिमा असर पर्ने चर्चा गर्दै उनले भने, ‘‘संगठनको हितका लागि विशेष किसिमले ल्याइएका यस्ता प्राथमिकताहरुलाई सबै युनिटका कर्मचारीहरुले चिन्तन मनन गरी व्यवहारमा लागू गर्नुपर्छ ।’’
मानव अधिकार संरक्षण र प्रवर्द्धनमा विशेष चासो दिएर काम गर्न समेत आईजीपी खनालले निर्देशन दिए । कार्यक्रममा पदोन्नति भएका प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले नमुना संगठन बनाउने कटिबद्धता, आकांक्षा र योजनाका साथ प्रहरी नेतृत्वले निर्धारण गरेका संगठनका प्राथमिकताहरुको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । समुदाय–प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक कार्यक्रमको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै यसलाई संस्थागत रुपमा विकास गर्नुपर्ने उनले बताए । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७६ वैशाख २७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा भएका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल तथा प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा. रामकृष्ण राजभण्डारी र डा. विजयराम श्रेष्ठलाई प्रहरी महानिरीक्षक खनालले दर्ज्यानी चिन्हले सुशोभन गरेका थिए ।

