बैशाख २७, काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६।०७७ को प्रि–बजेट माथि छलफल सुरु भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६।०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेसँगै छलफल सुरु भएको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७६।०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्व बजेट) माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । मुलुकले अवलम्बन गरेको विकासको ढाँचा, संघीयता, मौलिक हकको कार्यान्वयन र साधनको उपलब्धताबीचको तालमेलको खाकाभित्र रहेर बजेट आउने समेत मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
आगामी वर्षको बजेट न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, सामाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर बजेटका सिद्धान्त हुने समेत उहाँको दावी थियो ।
सभामुख कृष्णबहादुर महराले २९ गते आइतवार र ३० गते पूर्ब बजेट छलफलका लागि समय तोक्नुभएको छ । पूर्व बजेट छलफल सकिएपछि सरकारले १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्नेछ ।

