राजस्थानको धूलोले काठमाडौं घुर्मैलो

बैशाख २७, काठमाडाैं । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन ।

केही दिन अघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । “सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ,” बटुवा रमिता सुवेदीले भन्नुभयो, “दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।”

भारतको राजस्थानबाट आएकोे हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद राजु प्रधानाङ्ग बताउनुहुन्छ । “थार मरुभूमिमा यतिबेला बालुवाको धूलोसहितको ठूलो हुरी चलिरहेको छ,” उहाँले थप्नुभयो, “चर्किदो घामसँगै बलौटे माटो हुरीसँगै उड्ने गर्छ ।”

उहाँका अनुसार यसलाई ‘डस्ट स्ट्रोम’ भनेर चिनिन्छ । हुरी बनेको स्थानमा न्यून चापीय प्रणालीको विकास हुँदा त्यो हुरी अन्यत्र सर्दै जान्छ । जसरी बादल सर्दै गएर अन्यत्र पानी पर्छ । त्यसरी नै बालुवासहितको हुरीको त्यो बाक्लो स्वरुप नेपाल लगायतका देशमा भित्री रहेको छ ।

“राजस्थानमा चलेको पश्चिमी वायुले पूर्वतिर धकेल्दै भारतको बिहार, उत्तर प्रदेश हुँदै त्यो प्रदूषित हावा नेपाल आएको हो,” प्रधानाङ्गले थप्नुभयो, “थार मरुभूमिमा हुने मौसम प्रणालीमा यसरी नै हरेक वर्ष परिवर्तन आउनेगर्छ ।” यस्तो अवस्था नेपालमा अझै तीनचार दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा त्यो हुरीको प्रभाव रहे पनि दृश्यात्मक क्षमता (भिजिविलिटी) सात किलोमिटर रहेको छ । प्रधानाङ्गका अनुसार यो क्षमता तीन किलोमिटर वा त्यो भन्दा तल झर्यो भने हवाइ उडानमा असर पर्छ । यही प्रणालीका कारण सूर्यको किरण आकाशको सम्पूर्ण प्रकाश समेत पृथ्वीमा आइपुगेको छैन ।

धूलोसहितको एक प्रकारको घेरा वायुमण्डलमा बनेकाले प्रकाश परावर्तन भई फर्केको छ । जसका कारण चर्को घाम लागे पनि गर्मी बढेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.