ठमेलबाट बीस बालबालिकाको उद्धार

वैशाख २१, काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज बिहान तीन बजे उद्धार गरिएको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको जानकारी दिनुभयो । “ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो ।

उद्धार गरिएका बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले भन्नुभयो, “ठमेल, दरबारमार्ग, नयाँ बसपार्कलगायत जहाँ धेरै बालबालिका जान्छन् त्यस्ता क्षेत्रमा उक्त अभियान चलाउँदै आएका छौँ ।” वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको थियो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.