काठमाडौँ । किरात राई यायोक्खाले प्रदेश १ को नाम ‘किरात’ नराखिए गम्भीर परिस्थिति सिर्जना हुने बताएको छ ।
यही वैशाख १९ गतेसम्म प्रेदेश सभाले नाम र राजधानी प्रस्ताव दर्ता गर्न समयसीमा तोकेपछि काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गर्दै यायोक्खाले सो कुरा बताएको हो । ‘नदी वा हिमालको मात्र नाम राखियो भने त्यहाँको विद्रोही शक्तिलाई बल पुग्न सक्छ’, विज्ञप्तिमा भनिएको छ, ‘पहिचानको आधारमा प्रदेशको नाम किरात राखिएन भने अन्ततः त्यो भूगोलमा शान्ति स्थापना हुन सक्दैन ।’ विज्ञप्तिमा किरात कुनै जाति नभई इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति रहेको उल्लेख गरिएको छ ।
‘त्यसो भएर हामी इतिहास, भूगोल र सभ्यताको सम्मानको लागि बहुपहिचान झल्किने किरात प्रदेश नाममा सबैको सहयोग र समर्थनको लागि भूगोलवासीमा आव्हान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । यसअघि यायोक्खाले २५ लाखको हस्ताक्षर र विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रदेशका मुख्यमन्त्री साथै सभामुखलाई समेत स्मरण पत्र बुझाएको थियो ।

