‘मान्छे भित्रको शिक्षा’ – डा. अम्वु भवानी
मान्छे र शिक्षा, मान्छे भित्रको चेतना, जनावार र मान्छेमा फरक छ । यो भिन्नता चेतना अथवा शिक्षाबाट नै हुन्छ । शिक्षा बिनाको मान्छे जनावर तुल्य हुन्छ । शिक्षाको अर्थ प्रमाणपत्र मात्र हैन । केही कुरा जान्नु बुझ्नु शिक्षा हो । जब मान्छे जन्मिन्छ त्यहीबाट जान्ने र सिक्ने क्रम सुरु हुन थाल्छ । त्यो नै शिक्षा हो । चेतना हो । जब मान्छेमा चेतना, ज्ञान, जागरण, शोषण, अन्याय, अत्याचार, परिश्रमका बारेमा बुझ्छ र व्यक्तित्व विकासका लागि अगाडि बढ्छ त्यहीबाट शिक्षाको सुरु हुन्छ साथै शिक्षाको अर्थ सुरुवात हुन्छ । कतिपय शिक्षालयहरूमा व्यक्तित्व विकासका लागि सिप सिकाइन्छ, जगाइन्छ, तिनै शिक्षार्थीहरू नै सिक्ने विद्यार्थीहरू पनि हुन्छन् । स्तरयुक्त ज्ञान, शिक्षाले मानिसको व्यक्तित्व विकासका लागि नियमवद्ध रूपमा प्रशिक्षित हुँदै अगाडि बढाउँछ । त्यसैले शिक्षा नै विपत्तिहरूको जड हो, जान्दा सबै सफल राम्रो नजान्दा सबै गाह्रो दुर्लभ ।
समाजको मापन र विकास नै शिक्षाबाट हुन्छ । मानिसहरूको स्तर हेरेर मात्र शिक्षा र चेतना थाहा पाउन सकिन्छ । समाज देश विकासको लागि शिक्षाको प्रथम भूमिका रहन्छ । समाजमा भएका कुरीति कुसंस्कार र अन्धविश्वासको कालो जालो हटाउन उज्यालोरूपी शिक्षाले मात्र सक्छ । जून शिक्षा उचित हुनुपर्छ । १९२१ ई मा “पाउलो फ्रेरेले” शिक्षाको अर्थ खुलाए । जो ब्राजिलमा जन्मेका थिए । उनले उनले संसारभरिका मिहिनेती मान्छे र शिक्षाले नै संसार परिवर्तन गर्न सक्छ, यसैबाट समाजमा केही गरौँ भन्नेहरूलाई हौसला प्राप्त हुन्छ भन्दै विश्व परिवर्तन गर्ने महानवाणी छोड्दै शिक्षाको अर्थ निरक्षरता उन्मुलन गर्छ भन्ने छाप छोडे ।
“समाज चेतनशील र सचेत हुनु भनेको मान्छेभित्र मान्छे बन्नु हो ।”
समाजमा रहेका नचाहिँदा परम्पराले एक माथि अर्कोले गर्ने अअत्याचार थिचोमिचो असमानता जस्ता कुसंस्कार उन्मूलन गर्ने शिक्षारूपी हतियारै चहिन्छ । जहाँ चेतनशील बौद्धिक वर्गहरू रहन्छन् त्यो समाज निकै अगाडि बढेको हुन्छ । समाज चेतनशील र सचेत हुनु भनेको मान्छेभित्र मान्छे बन्नु हो । चेतना अथवा शिक्षा बिनाको मान्छे त केबल मान्छेरूपी शरीरमात्र हुन्छ तर मान्छे हुँदैन । शिक्षा प्राप्त गर्ने व्यक्तिहरूले शिक्षाको अर्थ बुझ्नुपर्छ । शिक्षा दुई किसिमको हुन्छ । व्यवहारिक र प्राविधिक । समाजभित्र बस्ने मान्छेले नीति, ज्ञान, पहिचान स्तरमापन जान्नु जरुरी छ । प्राविधिकतर्फ दैनिक गुजारा रहनसहन र भएका साधनको कसरी प्रयोग गर्ने । यो क्षेत्रमा कस्तो किसिमको वातावरण, कच्चापदार्थ छ भनेर हेर्नु अनुसन्धान गर्नुपर्छ । यी दुवैको पहिचान गरी समाजलाई अगाडि बढाउन समाजका बौद्धिक व्यक्तिको अहम् भूमिका रहन्छ । त्यसैले ज्ञानरूपी पानी पिलाउन समाजमा शिक्षाको ठुलो भूमिका रहन्छ । मान्छेले दुःख, कष्ट र प्रयत्न खान र बाँच्नैका लागि गरिरहेको हुन्छ । यसका लागि ज्ञानको आवश्यकता पर्छ । यसर्थ शिक्षाबिना केहीको पनि अस्तित्वनै रहँदैन । शिक्षा यस्तो सम्पत्ति हो जून अंश लाग्दैन माग पनि लाग्दैन । जति बाँड्यो उति बढ्छ घट्दैन । जसरी कृषिमा काम गर्नेले पनि विभिन्न प्रविधिहरू लगाई मिहिनेत गर्दै श्रम गर्न सकेन भने बाली नास हुन्छ यसमा तरिका जान्नु आवश्यक छ । यी सब सिक्ने काम शिक्षामै भरपर्छ । बाँच्नका लागि जान्नु, बुझ्नु र सिक्ने काम कहिल्यै टुङ्गिदैन । मृत्युपछि मात्र सिक्ने काम रोकिन्छ । शिक्षाले मानिसलाई अनुशासित मर्यादित र समाज र देशलाई माथि उठाउने शक्ति प्राप्त हुन्छ ।
यदि शिक्षा प्राप्त गर्ने व्यक्तिनै शिक्षाको अर्थ र महत्व बुझ्न चाहेनन् भने “भिल्लको देशमा मणि” बन्न जान्छ । यसैले समाजमा सिक्ने र गर्ने क्षमताको व्यक्तित्व विकास गर्ने नीति नियम तयार पार्नुपर्छ । शिक्षा नैसर्गिक अधिकार हो । यो अति आवश्यक छ भन्ने भावना तयार पारी राज्यले औपचारिक अनौपचारिक शिक्षा अनिवार्य गर्नुपर्छ । विकसित समाज समुदाय हुँदै देश निर्माण हुन्छ । समाजमा भएका शिक्षित व्यक्तिहरूले उत्सुकताको साथ समाजलाई नियालिरहन्छन् । आफ्नो समाजमा भएका विकृति , कुरीति, कुसंस्कारको निराकरण गर्न तत्पर रहन्छन् । समाजलाई कसरी सभ्य, मर्यादित पार्ने भन्ने ख्याल गरी नीति नियममा बाध्दै अनुशासित गराउन उचित शिक्षा दिँदै मिहिनेत गर्ने क्षमता विकास गराउँछन् । अँध्यारोबाट उज्यालोतिर, भ्रमबाट यथार्थतिर, स्वार्थबाट निस्वार्थतिर पाइला चाल्ने काम चेतनारूपी शिक्षाबाट मात्र सम्भव छ । जस्तोसुकै परिस्थितिको सामना गर्न पनि शिक्षाले प्रेरणा दिन्छ । शिक्षित व्यक्तिहरूबाटै हामी पृथ्वीका सबै खबर बोक्न र एक ठाउँबाट अर्को ठाउँमा उड्न, गुड्न सक्छौँ । हिजो पूजा गर्ने चन्द्रमामा पुग्न सक्छौँ । यसर्थ सिक्ने कामबाट कहिल्यै थाक्नु हुन्न । यसैले मान्छेलाई मान्छे बन्ने क्षमता प्राप्त हुन्छ ।
डा. अम्वुभवानी कार्की
(प्राचार्य – तेजगंगा बहुमुखी क्याम्पस, काभ्रे)

