ठेकेदारको लापरवाहीले पुल निर्माण अलपत्र

वैशाख १४, दमौली । ठेकेदारको लापरवाहीले तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं ५ र ६ जोड्ने लाब्दी खोलामाथि निर्माणाधीन पुल अलपत्र परेको छ । बुद्धसिंह मार्ग अन्तर्गत निर्माणाधीन मोटरेवल पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको हो ।

ठेकेदार सम्पर्कविहीन हुँदा आधा पिल्लर मात्र ठड्याइएको सो पुलमा लाखौं मूल्यको निर्माण सामग्री समेत बेवारिसे बनेको छ । तत्कालीन जिल्ला विकास समिति तनहुँ अन्तर्गतको जिल्ला प्राविधिक कार्यालयले स्थानीय सडक पुल कार्यक्रम (एलआरपीपी) अन्तर्गत उक्त पुल निर्माण शुरु गरेको थियो ।

विसं २०७० चैत १९ गते निर्माण सम्झौता भई २०७३ फागुन ५ गतेभित्र सम्पन्न गरिसक्ने गरी काठमाडौँको बिटी जयबाबा जेभी निर्माण कम्पनीले सम्झौता गरी निर्माण शुरु गरेको थियो । तत्कालीन समयमा पुलको जग खन्ने र आधा पिल्लर ठड्याउने काम धमाधम भए पनि त्यसपछि भने ठेकेदार सम्पर्कविहीन भएको स्थानीयवासी बताउँछन् ।  पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने वैकल्पिक सडक अन्तर्गत उक्त खोलामा पुल निर्माणले सडकको निर्माण र स्तरोन्नतिमा ठूलो महत्व राख्ने बताइएको छ । पूर्वाधार विकास कार्यालय नवलपुरका इञ्जिनीयर सागर खाम्छा मगरले रु पाँच करोड ६० लाख ८९ हजारको इष्टमेट तयार भए पनि उक्त पुल बोलपत्र प्रक्रियामार्फत रु तीन करोड ७८ लाख चार हजारमा निर्माण सम्झौता भएको जानकारी दिनुभयो ।

चालिस मिटर लामो उक्त पुलको १५ प्रतिशत मात्र काम सम्पन्न भएको र त्यसपछि ठेकेदार सम्पर्कविहीन भएको इञ्जिनीयर मगरले बताउनुभयो । उहाँका अनुसार उक्त कामवापत ठेकेदारले रु ६४ लाख भुक्तानी लगिसकेका छन् । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले निर्माण व्यवसायीलाई पुल निर्माण छिटो सक्न निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.