बैशाख १३, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणका क्रममा दुई मुलुकबीच भन्सार प्रशासन सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
अन्तरराष्ट्रिय सहकार्यका लागि दोस्रो बेल्ट एण्ड रोड फोरमको सम्मेलनमा अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे र चिनियाँ समकक्षीले हस्ताक्षर हुने भएको हो । नेपालको भन्सार विभाग र चीनको भन्सार प्रशासनबीच सहयोग सम्बन्धी सम्झौताले दुई मुलुकबीच व्यापार सहजीकरणमा ठूलो सहयोग पुग्ने छ ।
सम्झौतापछि यस्तो पहुँच सीधै पेचिङसम्म पुग्नेछ भने भन्सारका विषयमा आउने समस्या समाधान तथा व्यापार सहजीकरण गर्न अब सहज हुनेछ ।
सम्झौतामा चीनको आधुनिक भन्सार प्रणाली र प्रविधिको सहयोग र अन्य भन्सार सम्बन्धी सूचना आदानप्रदानका विषय समावेश हुनेछ । नेपालले अहिले रसुवागढी–केरुङ नाकाबाट चीनसँग व्यापार गरिरहेको छ ।

