तेजपुर निकै तेजिलो लाग्यो । यहाँको भोगोलिक, सामाजिक, सांस्कृतिक वातावरण राम्रो लाग्यो । लामो समय त्यहाँ बस्न नपाइए तापनि फूलको पारख सुगन्धबाटै हुन्छ भने जस्तै तेजपुरको छोटो अवलोकनबाट भारतको आसाम राज्यमा रहेको तेजपुरका बारेमा केही त अवश्य जान्यौ ।
गुवाहाटी आसमको राजधानी हो । त्यहाँभन्दा भन्दा करिव २०० सय किलो मिटर टाढा तेजपुर पर्दछ । हामी आसामको यात्राकै क्रममा थियौं । यात्राको तालिकामा तेजपुर पनि समावेश थियो । ‘हामी भोलि विहानै तेजपुर पुग्नु छ । त्यहाँ हाम्रो स्वागतार्थ साहित्यिक कार्यक्रमको आयोजना गरिंदै छ । हामी भोलि विहानै हिंड्नुपर्छ ।’ गोविन्द सरले सुचित गर्नुृभयो । होटल महाराजाको बास । विहान हिंड्नु छ । तर हाम्रो मन भने किन हो कुन्नि भाँडियो । ध्रुव दाइ तेजपुर नगइकन कलकत्ता जाउँ भन्न थाल्नुभयो । अक्षरमार्गका हामी तीन जना विजय दाइ, ध्रुव दाइ र म कलकत्ता घुम्ने अनि फर्कने प्रस्ताव आयो । ध्रुब दाइको तर्क छ हाम्रो मूख्य काम अक्षरमार्गको विशेष अङ्क विमोचन गर्नुथियो, गरिसकियो । अब तेजपुर नगए पनि भैहाल्यो । त्यसैले कलकत्ता गएर समुन्द्र हेर्न जाऔं उहाँले प्रस्ताव राख्नुभयो । एक मन हुन्छ जस्तो लाग्यो । जाने भए जाऔं न त भने । तर मेरो स्विकृति धेरै समय टिकेन । हामीसँगै आएका अग्रजहरू, साथीहरूलाई छोडेर हामी मात्र अन्तै घुम्न जाने काम कता कता ठिक लागेन । बुढापाकाहरू गाँस छोड्नु तर साथ नछोड्नु भन्थे । मैले पनि नेपालबाट आएकाहरूको साथ नछोड्ने विचार गरें । ध्रुव दाइलाई तेजपुर जानुपर्छ भनेर सम्झाएँ । उहाँ कुरा बुझ्नु हुन्छ । उहाँको स्विकृतिपछि तेजपुर जाने भयौं ।
सूर्यले पूर्वबाट लालिमालाई तेजिलो बनाउँदै थियो । धर्ती उज्याले हुँदै थियो । चराका चिरविरभन्दा पनि गाडकिा हर्नहरू बज्न थाले । निन्द्रादेवीले हामीलाई चटक्क छोडिन् । एक कप कालो चिया र दुईटा रोटी खाएर १७ गते विहानै हामी तेजपुरका लागि निस्कियौं । विहान ७ करिब बजेतिर तेपुर जाने बस चढ्यौं । हामी त्यहाँ पुग्दा करिव १.१५ बजिसकेको थियो । त्यहाँ हाम्रो स्वागतार्थ चन्द्रमणी उपाध्याय, ज्ञानबहादुर क्षेत्री लगायतका असमेली साहित्यकारहरू उपस्थित हुनुहुन्थ्यो । उहाँहरूको अतिथि सत्कारबाट हामी प्रफुल्ल थियौं । त्यहाँ हामीलाई होटल एच. वि.एस. मा लगेर राखियो । हामीले आ आफ्ना सामान होटलमा राख्यौं । एकैछिनपछि त्यहाँबाट केही परको एउटा होटलमा विहानको खाना खान भनेर उहाँहरूले लानुभयो । त्यहाँ भेज, ननभेज दुबै रहेछ । हामीले त बाटोमै खाना खाइसकेका थियौ. । धेरैले खाए, केहीले खाएनन् । मैले पनि खाइन । बाटोमा आउँदा आउँदै रुघा लाग्यो, सन्चो भएन । खान पनि मन लागेन । टाउको पनि दुख्न थालेको थियो । मैले चन्द्रमणी जीलाई औषधि दुकान कहाँ छ भनेर सोधें । उहाँले एक जना सज्जन मानिससँग मलाई पठाउनुभयो । पसलमा गएर कोल्डारिन भन्ने औषधी र ओकाडिन गार्गिल किने । पैसा दिन खोजें तर ती भलाद्मीले पैसा तिर्न ज्यान गए दिएनन् । मैले औषधिको पैसा त्यसो गर्न हुन्न, तपाईले पैसा तिरे मलाई औषधि खान अप्ठयारो पर्छ भन्दा पनि मानेनन् । उहाँको अतिथिप्रतिको अपार स्नेह पाएर म आफूले आफैलाई धन्य भएको पाएँ ।
औपधि नखाउन्जेल चल्ने आँटै आएन । ओइलिएको विरूवा जस्तै भएको थिएँ । औषधि खाएर केही बेर आराम गरेपछि अलि सन्चो भयो । सोही दिन हाम्रो स्वागतमा साहित्यिक कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा सकृय सहभागी हुन नसकिएला कि भन्ने डर थियो । त्यहाँ हामीलाई ढाकाको फूलबुट्टे गम्छाले स्वागत गरे । राजालाई स्वदेशमा मात्र मान्छन् तर विद्वानलाई सबैतिर मान्छन् भन्ने भनाइको पनि सम्झना गरायो तेजपुरले । प्रा. डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यता र साहित्यकार गीता उपाध्यायको सभापतित्वमा कार्यक्रमले रफ्तार पक्रिरहेको थियो । साहित्यकार ज्ञानबहादुर क्षेत्रीले चलाउनुभएको कार्यक्रम रोचक नै थियो । कार्यक्रममा त्यहाँका स्थानीय साहित्यकारहरू चन्द्रमणि उपाध्याय, दैवकीदेवी तिम्सिना, केशब सेढनई, कुसुमाकर उपाध्याय, कृष्णप्रसाद भट्टराई, गङ्गा अधिकारी, हेम राई, विशाल के.सी., चक्रमणी शर्मा, हरि गजुेल, मदन थापा, गुरुप्रसाद उपाध्याय, डिल्लिराम खनाल, कृष्ण क्षेत्री लगायतका थिए । हामी भइहाल्यौं । कार्यक्रमको प्रारम्भ भयो । उपस्थित स्रष्टाहरूले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । मैले पनि आफ्नो सिर्जना वाचनको मौका पाएँ । अघिसम्म रूघा र ज्वरोले सिथिल बनेको मेरो शरिर सिर्जना बाचनका लागि तयार भयो । मैले पनि नबिक्ने बोली शीर्षकको एउटा ब्यङ्ग्य कविता बाचन गरें ।
कविता यस्तो थियोः
नबिक्ने बोली
मान्छेको मनलाई खुसी पार्ने
कला सिकाइदेऊ
कालोलाई नि सेतो भन्न सक्ने
गला झिकाइदेऊ
लौ न हजुर मलाई पनि
मान्छे अनुसार
बोल्न सिकाइदेऊ ।
समयलाई चिन्न नसक्दा
मान्छेलाई पढ्न नसक्दा
म हजुरले ज्यूनार गरेपछि
खाने ल्वाङजस्तै भएँ
नेताले चुनाव जित्न थाप्ने
ठूलो ढवाङ जस्तै भएँ
म त के के भएँ, भएँ
पित्तललाई सुन नभन्दा
सबैका अगाडि सस्तो भएँ
त्यसैले हे प्रभु
मेरो पनि बोलीलाई
बजारमा बिकाइदेऊ
सच्चाइको होइन शक्तिको
भजन गाउन सिकाइदेऊ ।
हसबहादुर, होप्रसाद
र हुन्छकुमारको प्रगति देख्दा
मनमा डाहाको हुरी चल्दछ
उनीहरू आखाँको नानी
के म कसिङ्गर भएर बस्ने ?
यो प्रश्नले
मेरो दिमाग चाटेको छ ।
त्यसैले
मनको तितोलाई
मुखसम्म आउँदा
गुलियो बनाउने
कला सिकाइदेऊ
मेरो पनि बोलीलाई
बजारमा विकाइदेऊ ।
जहिले पनि अल्पमतमा
पर्छ मेरो कुरा
बोली पनि लाग्न थाल्यो
सबका लागि छुरा
म पनि बन्नुप¥यो
झुठ बोल्ने सुरा
अनि मात्र ठान्न सकिन्छ
अरुलाई भुरा
त्यसैले प्रभु ¤
वगलीमा छुरा भए नि
मुखले राम भन्न सिकाइदेऊ
मलाई पनि मान्छे अनुसार
बोल्न सिकाइदेऊ
मेरो पनि बोलीलाई
बजारमा बिकाइदेऊ ।
हाँ मा हाँ मिलाउन सक्ने
प्रगतिको शिखरमा पुग्छन्
आपत् विपत् केही पर्दा
फरिया भित्र नि लुक्छन्
मानिसका अगाडि मात्र हैन
गधाको अगाडि पनि झुक्छन ्
मान्छेजस्तै देखिने यी
अचम्मका प्राणीहरूजस्तै
मलाई पनि
अचम्मको प्राणी बनाइदेऊ
अरुको शुद्घ वाणीमा
असल भनाइदेऊ
हे प्रभु ¤
मलाई पनि मान्छे अनुसार
बोल्न सिकाइदेऊ
मेरो पनि बोलीलाई
बजारमा विकाइदेऊ ।
कविता वाचनपछि त्यहाँ उपस्थित भद्रभलाद्मीहरूबाट राम्रै प्रतिकृया प्राप्त भयो । त्यहाँ पाठ गरिएको कविता घामको चुम्वन नामक कवितासङ्ग्रहमा सङ्कलित कविता हो । कविता वाचन सकिए लगत्तै धेरैले घामको चुम्वन कवितासङ्ग्रह मागे । मसँग थोरै प्रति मात्र थियो । आफूसँग भएका पुस्तक बाँडियो । सोही कवितासङ्ग्रहको चन्द्रमणि उपाध्यायले हिन्दीमा अनुवाद गरिरहेको छु है सूर्यजी भन्नुभएको छ । उहाँले दिवाकरका चुंबन नाम दिएका रहेछन् । समय आएपछि प्रकाशित होला । कार्यक्रम सकिएपछि तेजपुरलाई अवलोकन गर्ने योजना रहेछ । योजना अनुसार हामी तेजपुरलाई भ्याएसम्म स्मृतिको क्यानभासमा कैद गर्न लााग्यौं । समय थोरै थियो । सूर्यले रातलाई निम्तो दिइसकेको थियो । तर पनि हामीले तेजपुरलाई हेर्दै स्मृतिपटमा सुरक्षित गर्दै अगाडि बढ्यौं । हाम्रो दृश्यावलोकनको कार्य अघि बढ्दै थियो । उषा पार्कमा एक्कासि मेरो नजर एउटा मूर्तिमा प¥यो । त्यो मूर्ति असुरराज वाणासुरको रहेछ । त्यसपछि त झन मनमा कुतुहलताको मुस्लो फुट्यो । मैले त्यसका बारेमा जिज्ञासा राखें । थाहा भयो, यसको प्राचीन नाम शोणितपुर रहेछ । द्वापर युगमा यहाँ असुरराज वाणासुरको राज्य रहेछ । उनी शिवभक्त रहेछन् । वाणासुरकी एउटी छोरी राजकुमारी उषा थिइन । उनी रूपवान थिइन ।
उषाको एकजना मिल्ने सखी थिइन चित्रलेखा । एक रात सुतिरहेको बेलामा उषाले सपनामा एउटा सुन्दर राजकुमारलाई देखे । उनको सुन्दरतामा राजकुमारी उषा मोहित भइन् । सपनामा राजकुमारलाई देखेदेखि उनको भोक, प्यास, निन्द्रा सब हरायो । आफ्नो सहेली उषाको अवस्था देखेर चित्रलेखाले भनी, ‘सखी उषा ¤ के भयो तिमीलाई?’ आजकाल तिमी किन ओइलिएको फूल जस्तै भएकी?’ चित्रलेखाले सोधिन् । उनको प्रश्नको जवाफ दिंदै उषाले भनिन्, ‘हेरन चित्रा ¤ अस्ति मैले एउटा सपना देखें । सपनामा एउटा सुन्दर राजकुमारलाई पनि देखें । त्यस बेलादेखि मलाई केही गर्न मन लाग्दैन । खान, लाउन, श्रृङ्गार गर्न केही गर्न पनि मन लाग्न छोडेको छ । उसलाई कसरी भेट्ने होला? भन्ने मात्र ध्याउन्न हुन्छ । चित्रा तिमी नै केही गरन बरु ।’ उषाको कुरा सुनेर चित्रलेखा आश्चर्यमा परिन । जुन युवकलाई कहिल्यै देखभेट गरेको छैन, कसैले चिनेको पनि छैन, त्यस्तो पुरुषलाई कहाँ, कसरी खोज्ने? चित्रलेखा मनमनै सोच्दै थिइन् । त्यसपछि उषालाई सुन्दर राजकुमारको वयान गर्न भनिन् । आफूले चाहीं वयान गरे अनुसारको चित्र कोर्न थालिन् । चित्र कोर्दै जाँदा सुन्दर चित्र तयार भयो । चित्रलेखालाई तन्त्र विद्या पनि आउँथ्यो । त्यही बिद्याको सहाराले उनले ती युवक को हुन भनी पत्ता लगाउने प्रयास गरिन । त्यो युवक त भगवान कृष्णका नाती भएको पत्ता लाग्यो । त्यसपछि चित्रलेखाले भनिन्,‘ हेर सखी, तिमीले देखेको त्यो युवक त द्वारकाधिस श्री कृष्णका नाती प्रधुम्नका छोरा अनिरुद्र पो रहेछन् । अब तिमीले ती युवकसँगको मिलनको विचार आफ्नो मनबाट निकाल्दे । तिमीलाई थाहा छ की पितामहाराज वाणासुर र श्री कृष्ण वीच ठूलो शत्रुताछ । यो सम्वन्ध जोड्न कठिन मात्र होइन असम्भव छ ।’ चित्रलेखाको कुरा सुनेर उषा रिसाइन र भनिन, ‘तिमीले मेरो सहायता गर्नुपर्छ । यदि गरिनौ भने म त्यसै देह त्याग गर्छु ।’ यति भनेर उषा पलङ्गमा पल्टिइन् ।
आफ्नो सखीको यस्तो अवस्था देखेर चित्रलेखाले जे गरेर पनि अनिरुद्र र उषाको मिलन गराउने विचार गरिन् । उनी उडेर द्वारका गइन् अनि सुतिरहेको अनिरुद्रलाई पलङ्गसहित उडाएर ल्याइन् । शोनितपुरमै दुबैको गन्धर्व विवाह भयो । अनिरुद्र र उषाको विवाहको कुरा तीनजना बाहेक कसैलाई थाहा थिएन । केही समय वितेपछि उषाको खोपीमा कुनै पुरुष पनि रहेछ भन्ने हल्ला दरवारभरि फैलियो । अन्नत अनिरुद्र राजा वाणासुरबाट बन्दि बनाइए । उता द्वारकामा अनिरुद्र नभएपछि खेलाबैला मचिरहेको थियो । पछि थाहा भयो अनिरुद्र त शोनितपुरमा बन्दी बनाइएको रहेछ । अब युद्ध हुनेनै भयो । द्वारकाले आफ्नो उत्तराधिकारीलाई वाणासुरको कव्जाबाट मुक्त गर्नु थियो । त्यसका लागि युद्ध एक मात्र विकल्प थियो । द्वारकाबाट श्रीकृष्ण आफ्नो सेना सहित सोनितपुर आक्रमणका लागि अगाडि बढिरहेको थियो । सधैं अनुहारमा मूस्कान छर्दै आउने कृष्णको अनुहार क्रोधको बादलले ढाकेको थियो । उनको अश्वरथ वेगवानले अगाडि बढिरहेको थियो । यता कहिल्यै युद्धमा पराजित नभएको वाणासुर र उनको सेनाको हौसला उच्च थियो । ठूलो युद्ध भयो । लामो समयसम्म युद्ध चल्यो । दुबैतर्फका धेरै सैनिकहरू मारिए । अन्तत वाणासुर युद्धमा पराजित भए । धेरै सैनिक मरेका कारण त्यहाँ रगतको खोला नै बग्यो । त्यसैले त्यस ठाउँलाई शोनितपुर भनिन थालियो भन्ने जनश्रुति रहेको छ । धार्मिक एवं पौराणीक दृष्टिले अत्यन्त महत्वपूर्ण ठाउँ तेजपुरको सौन्दर्यपान गर्ने लालसा मनभित्र थन्क्याएर हामी होटल पुग्यौं ।
भोलिपल्ट विहानै ब्रह्मपुत्र नदि र त्यसको किनारमा रहेको गणेशघाटको दृश्यावलोकन ग¥यौ । हामीले देखेको शान्त, सौम्य ब्रह्मपुत्र नदिले वर्षामा आफ्नो रूप बदल्छ रे । त्यसबेला उनको रौदै रूप देख्न पाइन्छ रे । त्यहाँ केही समय विताएपछि हामी साहित्यकार विदुषी गीता उपाध्यायको घरमा निमन्त्रणा मान्न पुग्यौं । गीता उपाध्याय आफैमा सुपरिचित र आदरयोग्य नाम हो । साहित्यमा मात्र होइन भारतको स्वतन्त्रता सङ्ग्राममा उहाँको पारिवारीक योगदानको कारणले समेत उहाँको सिङ्गो परिवार पुज्य छ । महात्मा गान्धीले भारतलाई अंग्रेजहरुबाट मुक्त गराई स्व्तन्त्र गराउने भारत छोडो आन्दोलनमा उहाँका हजुर बुबा छविलाल उपाध्यायको उल्लेख्य योगदान रहेको थियो । गीता उपाध्याय स्वयम प्रसिद्ध साहित्यकार हुनुहुन्छ । दर्जनौ कृतिका सर्जक गीता उपाध्यायको निवासमा हामीलाई उहाँले हार्दिकतापूर्वक स्वागत गर्नुभयो । चियानास्ता गराई जन्मभूमि मेरो स्वदेश नामक उपन्यास हस्ताक्षर सहित उपहार दिनुभयो । विहानको त्यो अविस्मरणीय भेटघाटपछि हामी गुवाहाटी फर्कियौं । तेजपुरको तेज अचम्मको छ । त्यहाँको जिवन्त इतिहास, पौराणिकता, प्राकृतिक सौन्दर्य मनमोहक छ । त्यसमा पनि हामी अक्षरमार्गीहरूलाई प्राप्त भएको न्योनो आतिथ्यता, श्रद्धा मनको बगैचामा सुगन्धित फूल भएर फुलिरहेका छन् । भूगोलका दृष्टिले हामी दुई अलग राष्ट्रका नागरिक भएता पनि भाषा र साहित्यले हामीलाई एउटै फूलको मालामा उनेको एकतात्मक आनन्ददायी अनुभूति तेजपुरले दिएको छ । आसामको यो प्रसिद्ध सहरले कला, साहित्य संस्कृतिको लहर ल्याएको छ । अन्तमा एक पंक्ति तेजपुरलाई नै समर्पित गर्दै
ओ तजपुर ¤
ब्रह्मपुत्र नदिकिनारमा बसेर
आफ्नो मुस्कान छरिरहने
संस्कृतिको राजधानी तिमी
प्रकृतिकी खानी तिमी
तिमी यसरी नै बस्नु
मान्छेको मनभित्रै पस्नु
धर्ममा बस्नु
कर्ममा पस्नु
अरूको नजरमा कहिल्यै नखस्नु ।
(सूर्यप्रसाद लाकोजूले सहकार्य मासिक पत्रिकामा लेख्नुभएको लेख)

