बैशाख ८, काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बो सहित विभिन्नस्थानमा श्रृंखलाबद्ध विष्फोट हुँदा १ सय जनाको मृत्यु भएको छ ।
कोलम्बोमा रहेका सेन्ट एन्थोनी र सेन्ट सेबास्टियन चर्चमा आज विहान विष्फोट भएको थियो । बिष्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएको छ ।
बिस्फोटमा घाइते भएका १ सय ६० जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार हुँदैछ । चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ ।
राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन ।यस्तै, मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन ।
गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ । घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन ।

