बैशाख ८, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी अहिले नै सन २०१९ को ब्यालोन डी’ओर अवार्डको प्रमुख दाबेदार बनिसकेका छन ।
युरोपियन च्याम्पियन्स लिगबाट क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस बाहिरिएसँगै मेस्सी अहिले नै ब्यालोन डी’ओर अवार्डको प्रमुख दाबेदार बनेका हुन । उपाधिका बलिया दावेदारका मानिएका क्रिस्टियानो रोनाल्डोको सम्भावना निकै कम देखिएको छ ।
ब्राजिलका चर्चित पूर्व खेलाडी रिभाल्डोले ब्यालोन डी’ओरको बहस सुरु गर्दै रोनाल्डो च्याम्पियन्स लिगबाट बाहिरएपछि अब मेस्सी ब्यालोन डी’ओरको मुख्य हकदार ब्यक्ति भएको बताए । रिभाल्डोले मस्सीले अब च्याम्पियन्स लिग नजितेपनि यस सिजनको ब्यालोन डी’ओर जित्ने बताएका छन ।
म्यानचेस्टर युनाइटेड तथा रियल म्याड्रिडका पूर्व प्रशिक्षक जोसे मोउरिन्होले मेसीलाई रोनाल्डोभन्दा बलियो दावेदारको रुपमा हेरेको बताए । उनले भने, ‘मेसीले युनाइटेडविरुद्ध कठिन रणनीतिमा पनि राम्रो प्रदर्शन गरे । मेसीले आफ्नो स्तर अनुसार प्रदर्शन गरेपछि युनाइटेड पराजित हुन पुज्ञ्ो । यसले उनलाई ब्यालोन डी’ओर का लागि पनि सहयोग गर्नेछ,’ ।
मोउरिन्होले दुई प्रमुख दाबेदारमध्ये क्रिस्टियानो रोनाल्डोको टिम युरोपियन च्याम्पियन्स लिगबाट आउट भइसकेकाले अब मेस्सी एक्लो प्रमुख दाबेदारका रूपमा अघि आएको बताए ।
मोउरिन्होले मेस्सीको अन्तिम परीक्षा अब लिभरपुसँगको खेलक्रममा हुने बताए । ‘मेस्सीले च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरिरहेका छन । रोनाल्डोको टिम आउट हुँदा मेस्सीले आफ्नो टिमले अन्तिम चारमा लगे,’ मोउरिन्होले भने, ‘अब लिभरपुलसँगको खेल नै मेस्सीका लागि प्रमुख खुड्किलो हो ।’
रोनाल्डोको युभेन्टस घरेलु मैदानमा आयाक्ससँग पराजित हुँदै बाहिरिंदा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ ।
पछिल्लो एक दशक विश्व फुटबलमा राज गरेका युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र मेस्सी अहिले पनि सबैभन्दा उत्कृष्ट खेलाडी हुन । मेस्सी र राेनाल्डाे दुवैले ब्यालोन डी’ओर अहिलेसम्म पाँच-पाँच पटक जितेका छन ।
यसअघि सन २००७ मा ब्राजिलियन खेलाडी काकाले ब्यालोन डी’ओर जितेपछि सन २०१७ सम्म रोनाल्डो र मेस्सीले आलो पालो गर्दै अवार्ड जितेका थिए । सन २०१८ मा आएर क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले यस अवार्ड हात पारे ।
रोनाल्डोले यसअघि सन २००८, २०१३, २०१४, २०१६ र २०१७ मा ब्यालोन डी’ओर जितेका थिए भने, मेस्सीले सन २००९, २०१०, २०११, २०१२ र २०१५ ब्यालोन डी’ओर जितेका थिए ।
तर यसबर्ष भने मेस्सीलाई टक्कर दिने कोहि देखिएको छैन । मेस्सीले यस सिजनमा बार्सिलोनाका लागि सबै प्रतियोगितामा गरी ४२ खेलमा ४५ गोल गरिसकेका छन । रोनाल्डोले युभेन्टसका लागि यस सिजन ३८ खेलमा २६ गोल गरेका छन । पेरिस सेन्ट जर्मन (पीएसजी) का केलियन एमबाप्पेले ३४ गोल गरेका छन ।

