बैशाख ५, चितवन । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाए पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित भएका छन ।
उक्त दफाको खारेजी माग गर्दै नेपाल पत्रकार महासंघको आह्वानअनुसार आज चितवनमा समेत जिल्ला प्रशासन कार्यालयमा धर्ना दीएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको आयोजनामा आज बिहान साढे नौ बजेदेखि एक घण्टासम्म प्रशासन कार्यालयमा धर्ना दीएको हो ।
महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बसिएको तथा महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बुझाइएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिनुभयो ।
महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिना शर्त रिहाइको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने कार्यक्रमसमेत गरिरहेको गिरीले बताउनुभयो ।

