विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

वैशाख ३, भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ ।

“विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ”, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरीे नियन्त्रणमा राख्न खोजेको बताउनुभयो ।

सरकारको एक वर्षे कार्यकालमा एउटा पनि देखाउन लायक काम हुन नसकेको उल्लेख गर्दै उहाँले मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । (रासस)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.