चैत २३, काठमाडौं । ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा नेपाल फेरि पनि भारतसँग पराजित भएको छ ।
म्यानमारमा भएको खेलमा भारतसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा नेपालले भारतलाई १–१को बराबरीमा रोके पनि दोस्रो हाफमा दुई गोल खान पुग्यो। छैटौं मिनेटमा असलत देशीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगिन् । भारतले लिएको सो अग्रता एक मिनेट पनि टिक्न सकेन । सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्याइन् ।
५८ औं मिनेटमा भारतले अग्रता २–१ मा पुर्याएको थियो । भारतका लागि ७९ औं मिनेटमा पेनाल्टी मार्फत थप एक गोल गरेको थियो । डीबक्सभित्र फल भएपछि पाएको पेनाल्टीलाई भारतकी अष्टलतादेवीले पेनाल्टी मार्फत गोल गर्दै ३–१ को अवस्थामा पुर्याइन् । पराजित भएसँगै नेपालले अन्तिम खेलमा आगामी मंगलबार इण्डोेनेशियासँग सान्त्वना जितका लागि खेल्ने छ ।

