मुस्ताङमा स्मार्ट सिटी बनाउन सांसद रायमाझीको माग

चैत १७, काठमाडौं । नेकपा सांसद टोपबहादुर रायमाझीले मुस्ताङमा स्मार्ट सिटी बनाउन माग गरेका छन् ।

आइतबार संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा सांसद रायमाझीले सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईसँग यस्तो माग गरेका हुन् । समितिले निर्माण योजनामा रहेको बाहिरी चक्रपथ र उपत्यकाका ४ स्थानमा बन्न लागेको स्मार्ट सिटीका विषयमा गरेको छलफलमा सांसद रायमाझीले आर्थिक पहुँच र राजनीतिक प्रभावका आधारमा उपत्यकामा स्मार्ट सिटी बन्न लागेको आरोपसमेत लगाए ।

“उपत्यकामा स्मार्ट सिटी बनाउन कुनै जरुरी मैले देखेको छैन । कर्णालीजस्ता विकास पर्खेर बसेका स्थानमा स्मार्ट सिटीको आवश्यकता छ । उपत्यकामा भन्दा बरु मुस्ताङमा बनाउँ स्मार्ट सिटी,” सांसद रायमाझीले बताए । सांसद रायमाझीले काठमाडौं उपत्यका अव्यवस्थित कंक्रिड बस्तीले भरिएको भन्दै सहरलाई भत्काउँदै जानुपर्नेसमेत बताए । “भरिएर निसास्सिएर मरिन्छ कि जस्तो भइसकेको काठमाडौंमा एकछेउबाट स्मार्ट सिटी बनाउन सुरु गरेर बाँकी काठमाडौंलाई भत्काउन थालौं । उपत्यकामा नयाँ स्मार्ट सिटीको आवश्यकता मैले देखेको छैन,” सांसद रायमाझीले भने । सांसद रायमाझीले राष्ट्रिय गौरवका आयोजनाहरु २० वर्षदेखि अलपत्र परेको भन्दै पहिला तिनै आयोजनाहरुलाई सम्पन्न गरेपछि मात्र नयाँ योजना ल्याउन समिति सभापति कल्याणी खड्कामार्फत् सरकारको ध्यानाकर्षण गराए ।

“एउटा विद्यालयको भवन बनाउन ३ लाख पठाइएको छ,” संघीयता कार्यान्वयन हुँदा पनि विकासको गति नफेरिएको भन्दै सांसद रायमाझीले भने, “खानेपानीको धारो बन्छ, सँगै बन्न सुरु गरेको ट्याङ्की २ वर्षसम्म पनि बन्न सक्दैन, आधी ट्याङ्कीमात्रै देखिन्छ ।” बैठकमा सभापति खड्काले मन्त्री राईलाई निश्चित मापदण्ड तोकेरमात्र स्मार्ट सिटी निर्माणको योजना अघि बढाउन सुझाव दिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.