प्रारम्भ खबर ।
चैत १६, काठमाडौं । तामाङ समुदायको साँस्कृतिक पहिचान बोकेको डम्फुको अस्तित्व बारे राजधानीमा ऐतिहासिक डम्फु साँझ– २०७५ हुने भएको छ ।
जुजुबा लन्ज एण्ड बारको आयोजनामा आगामी चैत २३ गते शनिवार एक विशेष साँस्कृतिक कार्यक्रम सहित नेपालमै पहिलो पटक डम्फु साँझको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा चर्चित गायक विश्व दोङले जानकारी दिए ।

गायक दोङले तामाङ भाषा, कला, साहित्यसंगै तामाङ समुदायको महत्वपूर्ण संस्कार र साँस्कृति प्रतीकको रुपमा चिनिएको डम्फुलाई संरक्षण र प्रर्वद्धनमा सहयोग पु¥याउन डाम्फु साँझको आयोजना गर्न लागिएको बताए । पत्रकार सम्मेलनमा उनले करिब डेढ दशक लामो सांगीतिक यात्रामा आफुले डम्फु सेलोलाई मुख्य आधार बनाई सामाजिक सद्भाव र सहअस्तित्वको रुपमा सामाजिक रुपान्तरणमा कार्य गर्दै आएको स्मरण गराउँदै तामाङ कला, संस्कृति, संस्कारको संरक्षण र प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले डम्फु साँझको परिकल्पना सहित अभियानको प्रारम्भ गर्न लागिएको स्पष्ट पारे ।
दरबार मार्ग स्थित जुजुबा लन्ज एण्ड बारको कार्यक्रम हलमा साँझा ७ बजेदेखि शुरु हुने उक्त कार्यक्रममा गायिका जितु लोप्चन, गायक प्रयास दोङ र प्रकाश दोङको विशेष प्रस्तुती रहने र अतिथि कलाकारमा नायक कुमार मोक्तान र नायिका रेखा थापा सहभागी रहने कार्यक्रमका व्यवस्थापक सुर्य लामाले जानकारी दिए ।
तस्बीरः दिपक आचार्य

