चैत १४, काठमाडौं । नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि हिजो (बुधवार) १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा टोलीको घोषणा गरिएको हो । नेपाली टोलीका अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ छन् । टोली प्रशिक्षकमा कमल विष्ट छन् ।
विश्वकप खेल्न नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाल समूह ‘डी’ मा छ । सो समूहमा क्यानडा, क्याटलना (स्पेन) र फ्रान्स छ । नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ । चैत १९ गते दोस्रो खेल क्याटलनासँग तथा अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । विश्वकपमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो ।

