३ अर्ब भ्रष्टाचार प्रकरण: ५ लाख धरौटीमा पुर्वमन्त्री न्यौपाने रिहा

चैत १३, काठमाडौ । भृकुटीमण्डपमा रहेको जग्गा ठेक्का भ्रष्टाचार प्रकरणका मुख्य अभियुक्त तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री नेकपाका केन्द्रिय सदस्य  बद्रीप्रसाद न्यौपाने बुधबार ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतमा बुधबार उपस्थित भएका उनी न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी तथा प्रमोदकुमार श्रेष्ठको इजलासले तोकेको धरौटी रकम बुझाइ छुटेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपानेसहित १४ जनाविरुद्ध ३ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा गत माघ २१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको जग्गामा मेला सञ्चालन गर्ने पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई समेत प्रतिवादी बनाएको छ । उनी अदालत उपस्थित भइसकेका छैनन् । गुरुङ कांग्रेसका नेता हुन् ।

अख्तियारले परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी तथा हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, मेला सञ्चालन गर्ने रवीन्द्र गुरुङविरुद्ध समेत मुद्दा दायर गरेको छ । अख्तियारले १४ जनाविरुद्ध जनही ३१ करोड ५२ लाख १७ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । समाज कल्याण परिषदको २०६९ भदौ २० को बैठकले टेकबहादुर गुरुङलाई १५ वर्षका लागि फनपार्क मेला सञ्चालन गर्न ठेक्का दिने निर्णय गरेको थियो । अख्तियारको अनुसन्धानले ठेक्का लिने र दिने दुवै पक्षको मिलेमतो पुष्टि गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.