चैत ११, विराटनगर । ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सो विधेयकको सैद्धान्तिक छफफलमा प्रदेशसभा सदस्य अम्बिका थापा, कुुसुमकुमारी श्रेष्ठ, चुमनारायाण तवदार, मोहनकुमार खड्का, राजकुमार ओझा, वसन्तीदेवी यादव, विष्णु तुम्बाहाम्फे र श्रीप्रसाद मैनालीले प्रदेशलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको भूमिका अग्रणी रहने भएकाले विधेयकलाई विवादरहित बनाउन विषयगत समितिमा लग्नुपर्ने सुझाव दिनुभयो । दीर्घकालीन योजनासहित बजेट विनियोजन गरेर प्रदेश नं १ को पर्यटकीय क्षेत्रमा पर्यटकको आवास, यातायातजस्ता पूर्वाधार तयार पार्न विधेयकले मार्ग दिनुपर्ने उहाँहरुको एकमत छ ।
शून्य समय
प्रदेशसभा सदस्य कुलप्रसाद सावाले कोशी अञ्चल अस्पतालमा राजनीतिक दबाबका कारण भर्ना भएका कर्मचारीका कारण अस्पतालमा अहिले रु आठ करोड ऋण देखिएकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सदस्य सूयर्माराज राईले मोरङको सुकुना माविमा प्राध्यापन गरिरहेका शिक्षकले दोहरो सुविधा लिइरहेकाले तत्काल रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य शान्ता पौडेलले विराटनगरमो तरकारी बजारमा अहिले पनि ढक र तराजुको समुचित व्यवस्था नहुँदा उपभोक्ता ठगीमा परिरहेकाले यसतर्फ प्रदेश सरकारले अनुगमन गर्नुपर्ने माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही चैत १३ गते दिउँसो १ बजे बस्ने उपसभामुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

