विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

चैत ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।” अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताउँदै उहाँले भन्नुभयो, ‘‘उहाँहरु सहज भएर आउनुहुन्छ । नभए जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ ।’’

प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जिकिर गर्नुभयो । उहाँले शान्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउनका लागि सरकारले सबै पक्षसँग छलफल गर्दै सहमति गराउन थालेको जानकारी दिनुभयो । ‘‘शान्ति प्रक्रियाको काम अव लामो समयसम्म राखेर कसैलाई खेल्न दिनुहुँदैन’’, उहाँले भन्नुभयो,‘‘कानूनी संरचना तयार भइसकेकाले अब समुचित ढङ्गले अविलम्ब शान्ति प्रक्रियालाई टुङग्याउने हो ।’’ उहाँले आज बस्ने मन्त्रिपरिषद् बैठकले शान्तिप्रक्रिया टुङ्ग्याउने दुई आयोग सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगका पदाधिकारी सिफारिस गर्नका लागि सिफारिस समितिसमेत गठन गरिने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले गरेका राम्रो कामको प्रचार गर्न तथा जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदसँग उहाँले आग्रह गर्नुभयो । उहाँले आगामी वर्षको नीति र कार्यक्रमका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर फर्कन पनि सांसदसँग अनुरोध गर्नुभयो ।

२५ वर्षे लक्ष्य बनाइने
प्रधानमन्त्री ओलीले सरकारले २५ वर्षे विकासको लक्ष्य बनाउन थालेको जानकारी दिँदै उक्त लक्ष्यलाई ध्यानमा राखेर समेत योजना ल्याउन सांसदसँग आग्रह गर्नुभयो । उहाँले विस्तारै विश्व नै समाजवादतर्फ उन्मुख भइरहेको बेला नेपाल पनि समाजवादको ल्याउन सरकार दृढ छ भन्दै सामाजिक न्यायसहितको समाजवाद ल्याउन दिशामा सरकार क्रियाशील रहेको बताउनुभयो ।

नेकपाका अध्यक्ष ओलीले पार्टी एकताको कामलाई चाँडै टुङग्याइने समेत बताउनुभयो । ‘‘हामीले पार्टीको सम्पूर्ण तहको एकीकरण उहिल्यै गरिसक्नुपर्ने थियो । एक महीनामा हुनुपर्ने पार्टी एकीकरणको काम दश महीनामा सकिएको छैन’’, उहाँले भन्नुभयो, ‘‘अब पार्टी एकतालाई छिट्टै टुङ्ग्याउँदैछौँ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आउनेबित्तिकै एकतालाई टुङग्याउछौँ ।’’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.