तीन सरकारी भवन अलपत्र

चैत ११, सुर्खेत । ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन् ।

क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सन प्रालिले भुक्तानी लिएर अधुरै छाडेकाले ती भवन सात वर्षदेखि अलपत्र परेका हुन् । विपद् व्यवस्थापनका आवश्यक सामग्री भण्डारण गर्ने उद्देश्यले गोदाम घर निर्माण थालिएको थियो । निर्माण अधुरै रहेपनि सङ्घीय सरकारले ती भवन प्रदेशलाई हस्तान्तरण गरिसकेको छ ।

सङ्घीय आयोजना एकाइ सुर्खेत शाखाले निर्माण व्यवसायीलाई पटक÷पटकपत्र पठाए पनि सम्पर्कमा नआएकाले कानूनी कारवाही गर्न बाध्य भएको जनाएको छ । एकाइ प्रमुख जगदीश लामिछानेले जिएम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी भइरहेको बताउनुभयो । ‘‘बारम्बार सम्पर्कका लागि पत्राचार गर्दासमेत कम्पनीका प्रतिनिधि सम्पर्कमा आएका छैनन्,’’ उहाँले भन्नुभयो,“धरौटी जफत गरेर अर्को कम्पनीलाई ठेक्का दिने गरी प्रक्रिया अघि बढाउँछौं ।” जिएम कन्स्ट्रक्सनले विपद् व्यवस्थापनसम्बन्धी सामान राख्न गोदाम निर्माणका रु दुई करोड ९८ लाख पाँच हजारमा सम्झौता गरी रु एक करोड २६ लाख ६० हजार भुक्तानी लिइसकेको छ । यसको करीब ४५ प्रतिशत काम मात्र पूरा भएको छ ।

त्यस्तै जिल्ला कारागार रु दुई करोड ३६ लाख ९८ हजारमा सम्झौता गरी रु एक करोड ७७ लाख ४३ हजार र कटकुवा हेल्थपोष्ट रु एक करोड एक लाख ५३ हजारमा निर्माण गर्ने सम्झौता गरी रु ५३ लाख ७४ हजार भुक्तानी लिइसकेको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.