सुशिल सिंखडा
सुन्दरीजल, काठमाडौं ।
न्हुच्छेमान र लक्ष्मी दुवैको घर एक अर्काको छिमेकमा छ । उनिहरु सानैदेखि खुव मिल्छन् । भात पकाई खेल्दा नि लक्ष्मी न्हुच्छेलाई घरमुलि बनाएर सरसामान खोज्न पठाउँथि ! बाल्यकाल सकियो, विद्यालय जाँदा–आउँदा पनि उनिहरु संगै आउजाउ गर्ने हो । कुनै कारणवस दुई मध्ये एक विद्यालय नगए आर्काेपनि नजाने….!
विद्यालय तहमा नै पढाई छाडेर उनिहरु बेपत्ता भए । गाउँ भरि न्हुच्छेले लक्ष्मीलाई भगायो भन्ने हल्ला पिटियो । छिमेकी संगको सामान्य झगडा त संगै सुतेपछि लात्ती लागे जस्तै हो । तर लक्ष्मी र न्हुच्छेका बाबु–आमा विच अब सधैं रडाको हुनथाल्यो । दुई परिवारको झगडा चलिरहँदा नै लक्ष्मीले उता छोरी पाई रे !
लगनशील न्हुच्छेलाई समयको गतिले ठूलो ब्यपारी बनाईदिएको छ । उनिहरुसंग अहिले दुई–तीनवटा सुविधा सम्पन्न गाडी, आलिसान घर र बैंक ब्यालेन्स छ । छोरी र छोरो क्रमशः महङ्गो कलेज र स्कुलमा पढ्छन । उहिले तम्सिएर न्हुच्छेका परिवारसँग पौठाजोरी गर्ने उसको सालोपनि भिनाजुको गाडी आफै चलाउँछ । पैसाको समस्या परेमा भिनाजुले सहयोग गर्छन भनेर साथीहरू विच फुर्ति पनि लगाउँछ । अहिले त लक्ष्मीको आमाले न्हुच्छेलाई छोरो भन्दा नि प्यारो गर्छिन ।

