चैत ७, काठमाडौं । नेपालको पाँच पटक प्रधानमन्त्री बन्नु भएका नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।
१९८१ मा गिरिजाप्रसाद कोइरालाको जन्म भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासन रहनु भएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजाप्रसादका जन्म भएको थियो ।
कोइरालाको राजनीतिको शुरुवात भने मजदूर नेताको रुपमा भएको थियो । गिरिजाप्रसाद नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष हुनुभयो । २०१७ सालमा पञ्चायती व्यवस्था शुरु भएसँगै गिरिजाप्रसाद जेल पर्नुभयो । २१ दिन भोक–हडताल गर्नुभयो र छुटेर उहाँ २०२१ मा भारत प्रवासमा जानुभयो ।
२०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचत हुनुभयो । उहाँ लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि हुनुभयो । २०४८ को आमनिर्वाचनपछि जननिर्वा्चित प्रधानमन्त्री हुनुभयो । सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो ।

