विद्यालयलाई छ थान कम्प्युटर निःशुल्क वितरण

चैत ७, लकोट । विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न जैमिनी नगरपालिका–७ जैदीस्थित शारदा आधारभूत विद्यालयलाई छ थान कम्प्युटर निःशुल्क प्रदान गरिएको छ ।

सदरमुकामस्थित सगरमाथा इङ्कहाउसले पाँच थान तथा जैमिनी नगरपालिका जैदी निवासी विद्यालयका पूर्वविद्यार्थी तीर्थराज वाग्लेले एक थान गरी रु एक लाख २५ हजार बराबरका कम्प्युटर विद्यालयलाई प्रदान गरिएको हो । उक्त विद्यालयमा अहिलेसम्म एक थान पनि कम्प्युटर नभएकाले यस्तो सहयोग गरिएको सहयोगी दाताले जानकारी दिए ।

“कम्प्युटर किन्न सक्ने क्षमता थिएन”, विद्यालयका प्रधानाध्यापक अरुण पौडेलले भन्नुभयो, “सहयोगी दाताले विद्यालयलाई निःशुल्क कम्प्युटर प्रदान गर्दा विद्यार्थीलाई समान्य कम्प्युटरसम्बन्धी ज्ञान दिन सक्ने भएका छौँ ।”  सगरमाथा इङ्कहाउसलका प्रोपाइटर नैवेद्य सिग्देलले आफूले प्रदान गरेका कम्प्युटरमा कुनै समस्या आए निःशुल्क मर्मतसम्भारसमेत गरिदिने र आगामी दिनमा जिल्लाका अन्य विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न सक्दो सहयोग गर्ने बताउनुभयो ।

कक्षा ५ सम्म अध्यापन हुने विद्यालयमा हाल ५२ विद्यार्थी छन् । विद्यालयमा तीन मात्र सरकारी दरबन्दीका शिक्षक छन् भने तीन निजी स्रोतबाट सञ्चालित छन् । यस विद्यालयमा शौचालय र कक्षाकोठाको पनि अभाव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर दर्जीले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.