प्रारम्भ खबर । काभ्रेको रोशी गाउँपालिका अन्र्तगत वडा नं. ३ मा विवाद हुदै आएको एक जग्गामा मालपोत कार्यालय धुलिखेलको ३५ दिने सूचनामा कसैले दावी गर्न नआएपछि वडा कार्यालयबाट सिफारिस गरिएको व्यक्तिहरुको नाममा हुने भएको छ ।
२००९ सालमै बेपत्ता रहेको म्राङ खेपा सार्कीमान लामाको नाममा पूर्जा रहेको उक्त ६ कित्ता जग्गामा पछिल्लो समयमा हकदार को बन्ने विषयमा विवाद निस्किएको थियो । वंशवालीअनुसार नजिकको नातामा मानविर लामा (मृतक), धनवीर तामाङ, र पंचवीर लामाको वडा कार्यालयबाट नामसारीको लागि सिफारिस भएपछि सोही गाउँकै नारायण सिं लामा, इमान सिं लामा, धनवीर लामा र चमार सिं तामाङले पनि मालपोत कार्यालयमा आफुहरुलाई पाउनुपर्ने दावी सहित निवेदन पेश गराएको छ ।

वडा कार्यालयले भने मिति २०७५ भदौ २१ गते मानविर लामा (मृतक), धनवीर तामाङ, र पंचवीर लामाको नाममा सिफारिस पठाईसकेका थिए । मिति २०७५ पुस ६ गते गोरखापत्र राष्ट्रिय दैनिकमा मालपोत कार्यालय काभ्रेपाल्चोकबाट जारी भएको जग्गा हकदावी एवम् बेपत्ता सम्बन्धि ३५ दिने सार्वजनिक सूचना गर्दा पनि अन्य हकदारहरुले दावी गर्न नआएपछि सोही कार्यालयले मिति २०७५ फागुन १३ गते व्योहोरा एकिन गरी पठाउन वडा कार्यालयलाई पत्र पठाएको सूचना प्राप्त भएको छ ।
सोही पत्रअनुसार वडा कार्यालयबाट मिति २०७५ फागुन १४ गते नजिकको नातामा पर्ने मानविर लामा (मृतक), धनवीर तामाङ, र पंचवीर लामाकै हुने भनि पुनः सिफारिसका साथ मालपोत कार्यालय धुलिखेलमा पठाएको जानकारी प्राप्त भएको छ । उक्त सिफारिस पत्रमा नारायण सिं लामा, इमान सिं लामा, धनवीर लामा र चमार सिं तामाङको नाममा हुनुपर्ने देखिदैन, साथै नामसारी हुनुपर्ने होईन भनि उल्लेख रहेको छ । उक्त जग्गा भोगचलन गर्दै आएको ज्ञान लामाले २०५१ साल बैशाख २३ गते सरकारलाई राजस्व तिरेको र २०७५ भदौ १९ गते रोशी गाउँपालिकाको कार्यालयमा जग्गाको विजक बनेको बताएको छ । मालपोतको ३५ दिने सूचनामा दावी गर्न अन्य व्यक्ति वा समूह नआएपछि वडाले गरिएको सिफारिस कार्यान्वयन हुने स्रोतले जनाएको छ ।

